राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा निर्वाचन क्षेत्र नं.–१ का उम्मेदवार हरि पन्तले पिपरा, लालपर्सा, भेडिहाइ र सोलखपुर क्षेत्रमा मतदातासँग भेटघाट तथा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी सञ्चालन गरिएको उक्त कार्यक्रममा स्थानीयवासीको उल्लेखनीय सहभागिता देखिएको थियो । भेटघाटका क्रममा स्थानीय मतदाताहरूले उम्मेदवार पन्तलाई विभिन्न स्थानमा टीका, माला र खादा लगाएर स्वागत गरेका थिए । स्वागतका क्रममा स्थानीयवासीहरूले मुलुकको अबको आशाको दियो नै राष्ट्रिय स्वतन्त्र पार्टी भएको उल्लेख गर्दै यसपटकको निर्वाचनमा पर्सा–१ बाट रास्वपालाई विजयी गराएर पठाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
घरदैलो अभियानका क्रममा उम्मेदवार पन्तसँग स्थानीय नागरिकहरूले शिक्षा, स्वास्थ्य, रोजगारी, सडक तथा आधारभूत सेवासँग सम्बन्धित विभिन्न समस्या र गुनासोहरू राखेका थिए । पन्तले ती समस्याहरूलाई ध्यानपूर्वक सुन्दै समाधानका लागि सदनदेखि स्थानीय तहसम्म पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।
कार्यक्रममा रास्वपाका नेता–कार्यकर्ता, स्थानीय युवा, महिला तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। रास्वपाले पर्सा–१ मा जनसम्पर्क अभियानलाई अझ सशक्त बनाउँदै मतदातासँग प्रत्यक्ष संवादलाई निरन्तरता दिने जनाएको छ ।