तपाईंले मनोरञ्जनका लागि प्रयोग गर्दै आएको TikTok अब राष्ट्रिय योगदानसँग जोडिन सक्ने भएको छ । राष्ट्रिय महायज्ञका रूपमा लिइएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोग ले टिकटक भिडियो प्रतियोगिता सञ्चालन गर्ने भएको हो ।
युवामाझ लोकप्रिय सामाजिक सञ्जालमार्फत निर्वाचनको माहोल बनाउन, प्रचारप्रसार गर्न र मतदाता शिक्षा प्रदान गर्न सकिने आयोगको विश्वास छ । यही फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई केन्द्रमा राखेर आयोगले टिकटक भिडियो बनाउने अभियान सञ्चालन गर्न लागेको हो ।
निर्वाचनलाई भव्य, सभ्य र प्रभावकारी बनाउन आयोगले टिकटक भिडियो प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको हो । निर्वाचन प्रचारप्रसार तथा मतदाता शिक्षालाई लक्षित गर्दै एक मिनेट अवधिको टिकटक भिडियो बनाएर आफ्नै सामाजिक सञ्जालमा राख्नुपर्नेछ। साथै फागुन १७ गतेभित्र आयोगको इमेलमा पनि भिडियो पठाउनुपर्ने व्यवस्था गरिएको छ ।
आयोगका अनुसार प्राप्त भएका भिडियोमध्ये सबैभन्दा बढी भ्युज भएको भिडियोलाई पुरस्कार प्रदान गरिनेछ। यसअन्तर्गत पहिलो हुनेलाई ५० हजार, दोस्रो हुनेलाई ३० हजार र तेस्रो हुनेलाई २० हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिनेछ। उक्त पुरस्कार व्यवस्थामा Premier Laxmi Bank को सहकार्य रहने जनाइएको छ ।
प्रतियोगिताका लागि तयार गरिने भिडियो प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को सन्दर्भमा आधारित हुनुपर्नेछ। भिडियो संवादमूलक तथा सन्देशमूलक हुनुपर्नेछ। यस अभियानमा Ncell को समेत सहकार्य रहेको छ ।
आयोगका अनुसार आफ्नै मौलिक अडियो र अभिनय प्रयोग गरिएको भिडियोलाई प्राथमिकता दिइनेछ । भिडियोमा निर्वाचनको सामान्य जानकारी, निर्वाचनको आवश्यकता र महत्व, मतपत्रमा सही तरिकाले छाप लगाउने विधि, निर्वाचन आचारसंहिताको पालना, मतदाताको अधिकार र कर्तव्य लगायत विषय समेटिएको हुनुपर्नेछ ।
यसका साथै मतदाताले कस्तो उम्मेदवार छनोट गर्नुपर्छ भन्ने जानकारीसमेत भिडियोमार्फत दिनुपर्नेछ । एक व्यक्तिले एउटा विषयमा एउटा भिडियो पठाउन सक्नेछन् भने दुई वा सोभन्दा बढी व्यक्ति मिलेर पनि भिडियो निर्माण गर्न सकिनेछ ।
प्रतियोगितामा प्राप्त भिडियोमाथि आयोगको अधिकार रहनेछ। आयोगले ती भिडियो आफ्ना सामाजिक सञ्जालमार्फत प्रसारण गर्न सक्नेछ। तोकिएका शर्त पूरा नगरेका वा म्याद नाघेर प्राप्त भएका भिडियो स्वीकार गरिने छैन। उत्कृष्ट भिडियोको छनोट स्वतन्त्र विज्ञ तथा आयोगले संयुक्त रूपमा गर्ने जनाएको छ ।