पर्सा क्षेत्र नम्बर १ का नेकपा एमालेका उम्मेदवार प्रदीप यादवले आइतबार वीरगंज महानगरपालिका–१६, नगवामा घरदैलो तथा जनता दर्शन कार्यक्रम सम्पन्न गरेका छन् ।
आइतबार बिहान चुनावी घरदैलोमा पुगेका यादवलाई स्थानीयले भव्य स्वागत गर्दै समर्थन व्यक्त गरे। महिला मतदाताले टीका लगाएर यादवलाई जीतको आर्शीवाद पनि दिएका छन् । स्थानीयहरूले चुनावका बेला मात्र भेटिने नेता नभइ, जनताको हरेक दुखसुखमा साथ दिने नेतृत्वलाई यसपटक पनि रोज्ने आश्वासन दिएका छन् ।
मतदातासँगको संवादमा पूर्वमन्त्री यादवले फागुन २१ गते हुने निर्वाचनले देशको भविष्य निर्धारण गर्ने भएकाले सही नेतृत्व रोजिनुपर्नेमा जोड दिएका छन् । उनले आफ्नो दुईपटकको कार्यकालमा क्षेत्रको विकास र जनताको सेवामा निर्वाह गरेको भूमिका मूल्यांकन गरिदिन मतदातासँग आग्रह गरे ।
यादवले भने, “व्यापारी आफ्नो नाफाघाटा मात्रै हेर्छ, चुनावलाई पनि नाफाको हिसाबले हेर्छ । जनता त्यसबाट सजग हुनुपर्छ । मुलुकमा स्टण्टले काम चल्दैन, अहिलेको संकटबाट निकास दिनसक्ने एकमात्र पार्टी एमाले हो ।”
विकास र समृद्धिको स्पष्ट खाका एमालेसंग मात्र रहेको भन्दै उनले थपे, “स्टण्ट गर्नेहरूले भोटका लागि जेपनि बोल्न सक्छन्, तर चुनाव सकिएपछि तिनीहरू कहाँ गायब हुन्छन्, त्यसको अत्तोपत्तोपनि हुँदैन । त्यसैले देशलाई संकटबाट निकालेर समृद्धिको दिशामा अघि बढाउन एमालेलाई आफ्नो अमूल्य मत दिनुहोला ।”