चितवन । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत चितवन निर्वाचन क्षेत्र नम्बर–३ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार सोविता गौतमले उल्लेखनीय अग्रता कायम गरेकी छन् । पछिल्लो मतपरिणाम अनुसार माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल तेस्रो स्थानमा झरेकी छन् ।
निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार सोविता गौतमले २ हजार २५ मत प्राप्त गर्दै अग्रस्थानमा रहेकी छन् । त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार शंकरराज थपलियाले १ हजार ५९ मत प्राप्त गर्दै दोस्रो स्थानमा छन् भने माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले १ हजार १० मत प्राप्त गर्दै तेस्रो स्थानमा झरेकी हुन् ।
सुरुआती चरणदेखि नै रास्वपाकी गौतमले निरन्तर अग्रता कायम राखेपछि चितवन–३ मा उनको जिततर्फको सम्भावना बलियो देखिएको छ । मुख्य प्रतिस्पर्धी मानिएकी रेनु दाहाललाई कांग्रेसका उम्मेदवार थपलियाले नै उछिनेपछि गौतमको जित लगभग निश्चिततर्फ उन्मुख भएको राजनीतिक विश्लेषकहरू बताउँछन् ।
चितवन–३ मा यसपटक त्रिपक्षीय प्रतिस्पर्धा हुने अनुमान गरिएको थियो। विशेषगरी रास्वपा, नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने आकलन गरिएको थियो। तर प्रारम्भिक मतगणनादेखि नै रास्वपाकी गौतमले फराकिलो अन्तरले अग्रता लिँदै आएकी छन् ।
मतगणना अझै जारी रहेकाले अन्तिम परिणाम आउन केही समय लाग्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतगणना स्थलमा कडा सुरक्षा व्यवस्था मिलाइएको छ भने उम्मेदवारका प्रतिनिधि तथा दलका पर्यवेक्षकहरूको उपस्थितिमा गणना कार्य भइरहेको छ ।