पर्सा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सुशीलकुमार कानुले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । उनले निर्वाचन आयोगको नियमअनुसार जिल्ला निर्वाचन कार्यालय पर्सामा कुल ९ लाख ९५ हजार ६ सय १४ रूपैयाँ खर्च विवरण बुझाएका हुन् ।
सांसद कानुले प्रस्तुत गरेको विवरण अनुसार, उनले चुनाव प्रचारप्रसार, कार्यक्रम सञ्चालन, सवारी साधन प्रयोग, विद्युत तथा सञ्चार लगायत विभिन्न शीर्षकमा खर्च गरेका छन् ।
विवरणअनुसार:
- मनोनयन दर्ता: रू १०,०००
- मतदाता नमावली: रू ३,०००
- प्रचारप्रसार सामग्री: रू ५,७९,१२४
- गेष्ठी तथा अन्तर्क्रिया खाजा खर्च, सवारी साधन र चालक खर्च: रू १,५५,०००
- सामाजिक सञ्जाल प्रचार: रू १५,०००
- अन्य प्रचारप्रसार: रू ९९,४९०
- विविध खर्च: रू ४२,०००
- यसरी कुल ९,९५,६१४ रूपैयाँ खर्च विवरण पेश गरिएको छ।
उक्त विवरण उम्मेदवारका तर्फबाट निर्वाचन प्रतिनिधिले प्रमाणित गरी जिल्ला निर्वाचन कार्यालयमा बुझाइएको हो । निर्वाचन आयोगले उम्मेदवारहरूले खर्चको पारदर्शिता कायम गर्न र निर्वाचन प्रणालीलाई स्वच्छ र निष्पक्ष बनाउन यस्तो विवरण अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्था गरेको छ ।
सांसद कानुले भनेका छन् कि उनले निर्वाचन अभियानमा पारदर्शिता, सादगी र जनविश्वासलाई प्राथमिकता दिएका हुन् । उनले निर्वाचनमा जनताबाट प्राप्त समर्थनप्रति आभार व्यक्त गर्दै अब विकास, सुशासन र जनहितका मुद्दा संसदमा प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता जनाएका छन् ।