नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी मुद्दामा विशेष अदालतले शिक्षक चन्देश कुमार चौहानलाई सफाइ दिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा आइतबार सुनुवाइ गर्दै विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र विदुर कोइरालाको संयुक्त इजलासले चौहानलाई आरोपित कसुरबाट मुक्त गर्ने फैसला गरेको हो । पर्साको पकहाँ मैनपुर गाउँपालिका–३ निवासी ५१ वर्षीय चौहानको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको आरोपमा अख्तियारले जेठ २६ गते विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।
उक्त मुद्दामा आइतबार सुनुवाइ हुँदा अदालतले आरोप प्रमाणित हुन नसकेको ठहर गर्दै सफाइ दिएको जनाएको छ । वीरगञ्ज महानगरपालिका–१ छपकैयास्थित श्री पंडित रामदेनि तिवारी आधारभूत विद्यालयका प्रधानाध्यापक रहेका चौहानविरुद्ध अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ (१) बमोजिम कैद तथा जरिवाना मागदाबीसहित आरोपपत्र दायर गरेको थियो । तर, अदालतले कसुर प्रमाणित हुन नसकेको निष्कर्ष निकालेको हो ।
उक्त फैसलाबारे अदालतले शिक्षा विकास तथा समन्वय इकाई, वीरगञ्जको शिक्षा महाशाखा तथा सम्बन्धित विद्यालयलाई समेत जानकारी गराइसकेको जनाएको छ ।