संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले ३० औं विश्व आदिवासी दिवसको अवसरमा थारु समुदाय सम्बद्ध सम्पदाहरुको अध्ययन प्रतिवेदन सार्वजनिक गरेका छन् ।
उनले थारु आयोगको काम, कर्तव्य र अधिकार विभिन्न ऐन नियम बमोजिम हुने कुरा बताए । मन्त्री गुप्ताले थारु समुदायको हकहित, अधिकार, संरक्षण, सम्बर्द्धन तथा विकासका लागि थारु आयोगले नेपाल सरकारलाई सिफारिस तथा सुझाव दिने स्पष्ट पारे। थारु आयोगले ७ वटै प्रदेशभित्र पर्ने थारु समुदाय सम्बद्ध सम्पदाहरुको अध्ययन गरी प्रतिवेदन प्रकाशन गरेकोमा खुसी व्यक्त गरे ।
उनले यो प्रतिवेदनले थारु समुदाय र अध्ययन अनुसन्धानकर्ताहरुलाई ढोका खोल्ने विश्वास व्यक्त गरे । मन्त्री गुप्ताले सम्पदाहरु मुलुकका अमूल्य निधि भएको र यसले भावी पुस्तालाई पुर्खाहरुको बारेमा बुझ्न मदत गर्ने बताए । मन्त्री गुप्ताले थारु सम्पदाहरुको खोजबिन गरी संरचना र सम्बर्द्धन गर्ने कार्यमा थारु आयोगलाई आभार प्रकट गरे ।
उनले संघ, प्रदेश र स्थानीय तहमार्फत थारु सम्पदाहरुको संरक्षण, सम्बर्द्धन र विकासका लागि सहयोग र समन्वय गर्ने प्रतिवद्धता जनाए । कार्यक्रममा थारु आयोगका अध्यक्ष र सम्पूर्ण टिमप्रति हार्दिक आभार प्रकट गरे ।