रौतहटमा एसइई परीक्षाको तेस्रो दिन अनलाइन माध्यमबाट चिटिङ गराएको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका–६, मोतियाहीका २१ वर्षीय रञ्जित कुमार साह रहेका छन् ।
रौतहटको चन्द्रपुर नगरपालिका–९, सिन्धुरेधारीस्थित जन जागृति माध्यमिक विद्यालयमा परीक्षा दिइरहेका विद्यार्थीलाई ह्वाट्सएप ग्रुपमा समावेश गरी प्रश्नपत्रका उत्तर पठाउने (चिटिङ) कार्य गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको टोलीले साहलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार पक्राउ परेका साहलाई शिक्षा ऐनअन्तर्गतको मुद्दामा जिल्ला अदालत रौतहटबाट ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको छ ।
यसअघि शुक्रबार पनि परीक्षा केन्द्रबाट प्रश्नपत्र बाहिर निकालेर ह्वाट्सएप ग्रुपमार्फत उत्तर पठाएको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरिसकेको थियो ।