सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित पृथ्वी माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको माध्यमिक शिक्षा परीक्षा (SEE) अन्तर्गत सामाजिक विषयको परीक्षामा नक्कली परीक्षार्थी फेला परेकी छन् ।
मंगलबार बिहान करिब १०:१५ बजे जिल्ला शिक्षा तथा समन्वय इकाइ सुनसरीको अनुगमन टोलीले परीक्षा केन्द्रमा गरेको निरीक्षणका क्रममा जामिआ इस्लामिया विद्यालयकी परीक्षार्थी सलमा अजहर (सिम्बोल नम्बर ०१००९५२६-X) को सट्टामा परीक्षा दिइरहेकी २० वर्षीया नुसरत बानो फेला परेकी हुन् ।
अनुगमन टोलीले शंकास्पद गतिविधि देखेपछि जाँच गर्दा उनी नक्कली परीक्षार्थी भएको पुष्टि भएको हो । त्यसपछि उनलाई तत्काल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी चिरौली चोकबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ।