नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रका कमजोरी र विकृति हटाउँदै नेपाली कांग्रेसलाई थप सुदृढ बनाएर अघि बढाउने बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले पार्टी अब आन्तरिक अलमलमा रुमल्लिएर बस्न नहुने बताएका हुन् । उनले पार्टीभित्रका समस्या र विकृति पहिचान गरी सुधार गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।
‘अब हामी घरभित्र अलमलिएर बस्ने होइन । पार्टीलाई थप सफा बनाएर लैजानुपर्छ, पार्टीभित्रको फोहोर पनि सफा गरेर लैजानुपर्छ,’ उनले भने ।
सभापति थापाले नेपाली कांग्रेसले विभिन्न पुस्तालाई जोड्दै समयानुकूल रूपमा अघि बढ्नुपर्ने बताए । सामाजिक सञ्जालमा लोकप्रिय हुने प्रतिस्पर्धामा मात्र केन्द्रित भएर पार्टीले आफ्नो जिम्मेवारी पूरा गर्न नसक्ने उनको भनाइ थियो ।
‘अब कसले सुन्छ, कसले सुन्दैन भनेर रिल्सको पछि कुदेर हुँदैन। विभिन्न मुद्दा र विषय छन्। यी विषयमा बन्द कोठामा बसेर चिन्तन गर्नुपर्छ, बहस गर्नुपर्छ,’ थापाले भने ।
समाजमा अनेकौँ समस्या रहेको उल्लेख गर्दै उनले सबै प्रश्नको उत्तर आफूसँग नहुन सक्ने भए पनि समस्यासँग सम्बन्धित प्रश्नबाट भाग्न नहुने धारणा राखे। उनका अनुसार समाजका समस्या पहिचान गरी समाधान खोज्न गम्भीर छलफल र बहस आवश्यक छ ।
थापाले कांग्रेसलाई समयानुकूल बनाउँदै विभिन्न पुस्ताका विचार, अनुभव र आवाजलाई समेटेर अघि बढ्नुपर्नेमा जोड दिए । पार्टीभित्र सुधार, वैचारिक बहस र पुस्ताबीचको समन्वयलाई प्राथमिकता दिएर कांग्रेसलाई थप सुदृढ बनाउनुपर्ने उनको भनाइ छ ।