७१औँ प्रहरी दिवसका अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित कार्यक्रममा प्रधानमन्त्री बालेन्द्र शाह अनुपस्थित भएका छन् । उनी कार्यक्रममा सहभागी नभई शुभकामना सन्देश पठाएका थिए, जुन प्रहरी महानिरीक्षक ज्ञानबहादुर कार्कीले वाचन गरेका थिए ।
प्रधानमन्त्री शाहले शुभकामना सन्देशमार्फत नेपाल प्रहरीलाई विपद् व्यवस्थापन, आधुनिक प्रविधिको प्रयोग र पूर्वाधार विकासका क्षेत्रमा सक्षम बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
पछिल्लो समय बढ्दै गएको वित्तीय तथा साइबर अपराध नियन्त्रणका लागि नेपाल प्रहरीको सहकार्यमा नेपाल राष्ट्र बैंक, इन्टरनेट तथा टेलिकम सेवाप्रदायक र डिजिटल वालेटहरूलाई एकै ठाउँमा ल्याएर नागरिकका गुनासो प्रभावकारी रूपमा सम्बोधन गर्ने व्यवस्था गरिँदै गरेको उनले उल्लेख गरेका छन् ।
त्यस्तै, कृत्रिम बुद्धिमत्ता (एआई), एरियल सेक्युरिटी एन्ड सपोर्ट युनिट तथा इन्टिग्रेटेड एन्टी–स्क्याम सेन्टर स्थापना गर्ने तयारी भइरहेको पनि सन्देशमा उल्लेख छ ।
प्रहरी कर्मचारी, उनीहरूका परिवार तथा सर्वसाधारणलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने सरकारको योजना रहेको प्रधानमन्त्री शाहले बताएका छन् ।
‘विपद्मा सारथी, संकटमा छहारी, प्रविधियुक्त नेपाल प्रहरी’ भन्ने नाराका साथ मनाइएको प्रहरी दिवसका अवसरमा उनले आधुनिक तालिम, नीतिगत मार्गदर्शन, कानुनी सहजता र पूर्वाधार विकासमार्फत प्रहरी संगठनलाई थप सक्षम बनाइने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रधानमन्त्री शाहले राष्ट्रको सेवा गर्ने क्रममा हालैको भोटेकोशी–त्रिशूली विपद् तथा विभिन्न कालखण्डमा ज्यान गुमाएका प्रहरीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। साथै, कर्तव्य निर्वाहका क्रममा घाइते तथा अशक्त भएका प्रहरी कर्मचारीको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
आन्तरिक शान्ति, सुरक्षा र सुव्यवस्था कायम राख्न नेपाल प्रहरीले पुर्याउँदै आएको योगदानको प्रशंसा गर्दै उनले संकटका बेला धैर्य, सही निर्णय र कुशल कार्यसम्पादन महत्त्वपूर्ण हुने बताएका छन् ।