नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका पाँच जना नेता केन्द्रीय कार्यसमितिमा निर्वाचित भएका छन् ।
केन्द्रीय सदस्यमा चार जना निर्वाचित हुँदा सहमहामन्त्री पदमा पर्साका नेता सुरेन्द्र प्रसाद चौधरी भने पराजित भएका छन्। केन्द्रीय सदस्यमा मधेसी खुला समूहबाट पर्साका अनिल कुमार रुंगटा र अशर्फी साह निर्वाचित भएका छन्। सोही समूहबाट उम्मेदवारी दिएका रामरुप प्रसाद कुर्मी भने पराजित भएका छन्। कुर्मी यसअघि विशेष महाधिवेशनबाट कांग्रेसको केन्द्रीय सदस्य बनेका थिए ।
यसैगरी, खस आर्य कोटाबाट नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्री केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । मुस्लिम महिला कोटाबाट जमिला खातुन पनि केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् ।
यता, थारु कोटाबाट सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साका नेता सुरेन्द्र प्रसाद चौधरी पराजित भएका छन्। उनी यसअघि विशेष महाधिवेशनबाट कांग्रेसको केन्द्रीय सदस्य बनेका थिए ।
सहमहामन्त्रीको मधेसी समूहबाट पर्साकै नेता अजय चौरसिया निर्वाचित भएका छन्। कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्रीसमेत रहेका चौरसियाको जितसँगै पर्साले पार्टीको केन्द्रीय कार्यसमितिमा एक पदाधिकारीसहित पाँच जना प्रतिनिधित्व पाएको छ ।
यसरी कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका पाँच नेता केन्द्रीय कार्यसमितिमा पुगेका छन्। तर, सहमहामन्त्रीका उम्मेदवार चौधरी र केन्द्रीय सदस्यका उम्मेदवार कुर्मीले भने पराजय भोगेका छन् ।