आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत एकदिवसीय शृङ्खलामा नेपालले ओमानविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।
ओमानको अल अमेरतस्थित अल अमेरत ग्राउन्ड मिनिस्ट्री टर्फ–१ मा भएको टसमा नेपालले जित हासिल गर्दै ब्याटिङ रोजेको हो। टस हारेसँगै ओमानले पहिले फिल्डिङ गर्ने भएको छ । जारी शृङ्खलामा नेपाल र ओमान दुवै दोस्रो जितको खोजीमा छन्। असोज २६ गते भएको आफ्नो पहिलो खेलमा नेपालले क्यानडालाई २४ रनले पराजित गरेको थियो। त्यसअघि शुक्रबार भएको खेलमा ओमानले पनि क्यानडालाई ४१ रनले हराएको थियो।
ओमानले क्यानडालाई पराजित गरेसँगै आइसिसी विश्वकप क्रिकेट लिग–२ को शीर्ष चारमा पर्ने नेपालको सम्भावना समाप्त भएको छ। अब नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउने लक्ष्य महत्त्वपूर्ण बनेको छ। लिग–२ को अङ्क तालिकामा ३३ खेल खेलेको नेपाल २६ अङ्कसहित छैटौँ स्थानमा छ। यस्तै, ३४ खेलबाट २५ अङ्क जोडेको क्यानडा सातौँ स्थानमा झरेको छ। २९ खेल खेलेको ओमान भने ३३ अङ्कसहित चौथो स्थानमा रहेको छ ।