वीरगंज महानगरपालिका वडा नम्बर २२ स्थित जगन्नाथपुरमा मेला सकिएको एक दिन बितिसक्दा पनि सडकमा फोहोर थुप्रिएको छ। समयमै सफाइ नहुँदा स्थानीयवासी तथा सडक प्रयोगकर्ताले सास्ती खेप्नुपरेको छ।
जगन्नाथपुरमा एक दिनअघि लागेको मेला सकिए पनि सडकमा फोहोर यत्रतत्र छरिएको अवस्थामा रहेको स्थानीयले बताएका छन्। मेला सकिएको एक दिन बितिसक्दा पनि महानगरपालिकाले सफाइमा ध्यान नदिएको उनीहरूको गुनासो छ।
स्थानीयवासीले वीरगंज महानगरपालिकाले मुख्य सहरी क्षेत्रको सफाइमा मात्रै ध्यान दिने गरेको आरोप लगाएका छन्। वीरगंजको मुख्य क्षेत्रमा मेला सकिएको रातमै सफाइ हुने गरेको भए पनि जगन्नाथपुरमा भने मेला सकिएको एक दिन बित्दासमेत सफाइ नभएको उनीहरूको भनाइ छ।
सडकमा थुप्रिएको फोहोरले दुर्गन्ध फैलिने र आवतजावतमा समस्या हुने भन्दै स्थानीयले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। महानगरपालिकाले मुख्य बजार क्षेत्रसँगै वडा तथा ग्रामीण बस्तीमा पनि समान रूपमा सरसफाइलाई प्राथमिकता दिनुपर्ने उनीहरूको माग छ।