रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेन र अमेरिकासँग त्रिपक्षीय शान्ति वार्ता गर्न सहमत भएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफसँग बुधबार रुसको सेन्ट पिटर्सबर्गमा भएको भेटपछि पुटिन वार्ताका लागि सहमत भएका हुन् । रुस–युक्रेन युद्ध अन्त्य गर्ने उद्देश्यले अमेरिका र रुसबीच कूटनीतिक छलफल भइरहेका बेला त्रिपक्षीय वार्ताको तयारी अघि बढेको हो । प्रस्तावित वार्तामा रुस, युक्रेन र अमेरिकाका प्रतिनिधिहरू सहभागी हुने अपेक्षा गरिएको छ ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार पुटिनका विदेश मामिला सल्लाहकार युरी उशाकोभले वार्ता नोभेम्बर १० पछि हुन सक्ने बताएका छन् । संयुक्त अरब इमिरेट्सको अबुधाबीमा वार्ता आयोजना हुन सक्ने सम्भावना रहे पनि यसको मिति र विस्तृत कार्यतालिका भने निश्चित भइसकेको छैन ।
अमेरिकी राष्ट्रपति ट्रम्पले रुससँगको कूटनीतिक सहमतिमार्फत युद्ध अन्त्य गर्ने प्रयास गरिरहेका छन् । यता, पुटिनले अमेरिकासँगको वार्तामार्फत रुसका रणनीतिक हित सुरक्षित गर्ने प्रयास गरिरहेको विश्लेषण गरिएको छ ।
वार्तामा रुसमाथि लगाइएका प्रतिबन्ध, ऊर्जा व्यापार, युक्रेनको भूभाग र सुरक्षासम्बन्धी विषय महत्त्वपूर्ण बन्न सक्नेछन् । विशेषगरी युक्रेनको भूभागसम्बन्धी रुसका माग, युक्रेनको सुरक्षा प्रत्याभूति र नेटो सदस्यतासम्बन्धी विषयमा दुवै पक्षबीच मतभेद कायम छन् ।
रोयटर्सका अनुसार पुटिन र विटकफबीचको भेटमा युक्रेन युद्ध अन्त्य गर्न सकिने सम्भावित उपायबारे छलफल भएको थियो । यद्यपि, युद्ध अन्त्यका सर्तमा रुस र युक्रेनबीच सहमति जुट्न बाँकी रहेकाले प्रस्तावित त्रिपक्षीय वार्ताबाट तत्काल ठोस परिणाम निस्कनेमा अनिश्चितता कायम छ ।
त्रिपक्षीय वार्ता अघि बढेमा युद्ध अन्त्यका लागि कूटनीतिक संवादको नयाँ अवसर खुल्न सक्नेछ । तर, भूभाग, सुरक्षा प्रत्याभूति र अन्य रणनीतिक विषयमा सहमति जुटाउनुपर्ने चुनौती भने कायमै छ ।