अमेरिकाले साउदी अरबलाई ४८ वटा एफ–३५ लडाकु विमान बिक्री गर्ने सम्भावित सम्झौतालाई अघि बढाएको छ। अमेरिकी विदेश मन्त्रालयले करिब २४.३ अर्ब अमेरिकी डलरको प्रस्तावित बिक्रीबारे अमेरिकी कांग्रेसलाई औपचारिक जानकारी गराएको हो ।
प्रस्तावमा एफ–३५ विमानसँगै ४९ वटा इन्जिन, सञ्चार उपकरण, स्पेयर पार्ट्स, तालिम तथा अन्य सहयोगी सामग्री समावेश छन्। बिक्री सम्झौता भने अमेरिकी कांग्रेसको समीक्षा र स्वीकृति प्रक्रियापछि मात्र अन्तिम हुनेछ ।
साउदी अरबले लामो समयदेखि अमेरिकी स्टेल्थ प्रविधियुक्त एफ–३५ विमान खरिद गर्न चासो देखाउँदै आएको थियो। बिक्री अघि बढेमा साउदी अरब एफ–३५ सञ्चालन गर्ने पहिलो अरब मुलुक बन्नेछ। हाल मध्यपूर्वमा इजरायलले मात्र यो विमान सञ्चालन गर्दै आएको छ ।
अमेरिकी विदेश मन्त्रालयले प्रस्तावित बिक्रीले साउदी अरबको प्रतिरक्षा क्षमता बलियो बनाउने र अमेरिकी सेनासँग उसको सैन्य अन्तरसञ्चालन क्षमता बढाउने जनाएको छ। मन्त्रालयले यसबाट क्षेत्रीय सैन्य सन्तुलनमा परिवर्तन नआउने दाबी गरेको छ ।
तर, एफ–३५ बिक्रीको विषयमा अमेरिकाभित्रै सुरक्षा र प्रविधि हस्तान्तरणसम्बन्धी प्रश्न उठेका छन्। अमेरिकी गुप्तचर निकायका केही आन्तरिक मूल्याङ्कनमा साउदी अरबसँगको सैन्य सहकार्यका कारण चीनले एफ–३५ मा प्रयोग हुने संवेदनशील अमेरिकी प्रविधिमा पहुँच पाउन सक्ने जोखिमबारे चिन्ता व्यक्त गरिएको रिपोर्ट सार्वजनिक भएको छ ।
साउदी अरबले चीनसँग रक्षा क्षेत्रमा सहकार्य र सैन्य सम्बन्ध विस्तार गरिरहेको पृष्ठभूमिमा यस्तो चिन्ता उठेको हो। यस्तै संवेदनशील प्रविधि अन्य देशमा पुग्न सक्ने जोखिमकै कारण विगतमा एफ–३५ बिक्रीसम्बन्धी केही प्रस्तावमा पनि अमेरिकी अधिकारीहरूले सावधानी अपनाएका थिए ।
यसैबीच, अमेरिकी कांग्रेसका केही सदस्यले प्रस्तावित बिक्रीप्रति आपत्ति जनाएका छन्। इलिनोइसका डेमोक्र्याट सांसद राजा कृष्णमूर्तिले अमेरिकी सैन्य प्रविधि चीनको पहुँचमा पुग्न सक्ने जोखिम रहेको भन्दै बिक्रीको विरोध गरेका छन् ।
अब कांग्रेससँग प्रस्तावित बिक्रीको समीक्षा गर्ने प्रक्रिया अघि बढ्नेछ। कांग्रेसको स्वीकृति प्राप्त भएपछि मात्र सम्झौता कार्यान्वयनतर्फ जानेछ ।