सात महिनादेखि जारी युद्ध अन्त्य गर्ने प्रयासस्वरूप अमेरिका र इरानका अधिकारीहरूले सोमबार मध्यस्थकर्तामार्फत छुट्टाछुट्टै छलफल गरेका छन् ।
अमेरिका र इरानका अधिकारीहरूका अनुसार युद्धविराम तथा शान्ति वार्तालाई पुनः अघि बढाउने उद्देश्यले पछिल्लो संवाद भएको हो। आगामी वार्ता संयुक्त राष्ट्रसंघको महासभाका क्रममा इरानले अघि सारेको सातदिने प्रस्तावको संशोधित स्वरूपमा केन्द्रित हुन सक्ने रोयटर्सले जनाएको छ ।
फेब्रुअरीको अन्त्यमा अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य कारबाही सुरु गरेपछि जारी द्वन्द्वमा ठूलो मानवीय क्षति भएको छ। द्वन्द्वका कारण विश्व बजारमा समेत प्रभाव परेको छ भने तेल आपूर्तिका लागि महत्वपूर्ण स्ट्रेट अफ हर्मुजको अवस्थालाई लिएर अन्तर्राष्ट्रिय चासो बढेको छ ।
यसअघि मध्यस्थतामार्फत भएका वार्तामा अमेरिका र इरानले अप्रिल र जुनमा दुईपटक युद्धविराममा सहमति गरेका थिए। तर ती सहमति लामो समय टिक्न सकेनन् ।
इरानको सातदिने प्रस्ताव
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्युयोर्क पुगेका इरानी विदेशमन्त्री अब्बास अराघ्चीले इरानले अघि सारेको युद्धविराम प्रस्तावमा अमेरिकाको जवाफको प्रतीक्षा भइरहेको बताएका छन् ।
इरानको प्रस्तावमा इरान र लेबननमा जारी शत्रुता अन्त्य गर्ने, रोक्का गरिएको इरानी सम्पत्ति फुकुवा गर्ने, इरानी तेलमाथिको प्रतिबन्ध हटाउने तथा इरानी बन्दरगाहमाथिको नाकाबन्दी अन्त्य गर्ने विषय समेटिएका छन् ।
त्यसको बदलामा इरानले तेल ढुवानीका लागि महत्वपूर्ण स्ट्रेट अफ हर्मुज पुनः सञ्चालन गर्ने प्रस्ताव गरेको छ। साथै इरानको आणविक कार्यक्रमबारे पुनः वार्ता गर्ने विषय पनि प्रस्तावमा समेटिएको जनाइएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानको प्रस्ताव अस्वीकार गरेको बताएका थिए। तर आइतबार अमेरिकी सञ्चारमाध्यमसँग कुरा गर्दै उनले यही साता अमेरिकी वार्ताकारहरूले इरानी पक्षसँग थप छलफल गर्ने अपेक्षा रहेको बताएका थिए ।
सोमबार ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले अमेरिकी अधिकारीहरूले मध्यस्थकर्तासँग छुट्टाछुट्टै संवाद गरेको पुष्टि गरे। यद्यपि उनले छलफलको विस्तृत विवरण सार्वजनिक गरेनन् ।
उता इरानी विदेशमन्त्री अराघ्चीले अमेरिकाले प्रस्ताव औपचारिक रूपमा अस्वीकार गरेको जानकारी आफूहरूलाई प्राप्त नभएको बताएका छन्। अमेरिकाको स्पष्ट धारणा आएपछि मात्रै आगामी कदमबारे निर्णय गर्ने इरानको भनाइ छ ।
अराघ्चीका अनुसार जारी गतिरोधको समाधान वार्तामार्फत खोज्नुपर्नेछ। इरानले स्ट्रेट अफ हर्मुज पूर्ण रूपमा सञ्चालन गर्ने विषय आफ्ना सर्त पूरा भएपछि मात्रै सम्भव हुने जनाएको छ ।