भारतको उत्तरपूर्वी राज्य मणिपुरमा दूषित मदिरा सेवनबाट कम्तीमा ११ जनाको मृत्यु भएको छ । घटनामा १८० भन्दा बढी व्यक्ति बिरामी परेका छन् ।
मणिपुरका मुख्यमन्त्री युमनाम खेमचन्द सिंहका अनुसार पछिल्लो ४८ घण्टामा मदिरा सेवनपछि बिरामी परेका ११ जनाको मृत्यु भएको हो । बिरामी परेकामध्ये १८० भन्दा बढी व्यक्ति दुईवटा अस्पतालमा उपचाररत छन् । घटनाबारे जानकारी पाएलगत्तै मुख्यमन्त्री सिंहले घटनाको विस्तृत अनुसन्धान गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । उनले घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याइने बताएका छन् ।
भारतमा अवैध तथा मिसावटयुक्त मदिरा सेवनबाट मानिसहरूको ज्यान जाने घटना पटक–पटक सार्वजनिक हुँदै आएका छन् । नियमनबाहिर बिक्री हुने सस्तो मदिरामा अत्यन्त विषाक्त औद्योगिक रसायन मिथानोल मिसाइने गरेको आशंका गरिन्छ । गत मे महिनामा पश्चिमी राज्य महाराष्ट्रको पुणे र छिमेकी पिम्परी–चिन्चवाड क्षेत्रमा मिथानोल मिसाइएको अवैध मदिरा सेवनबाट कम्तीमा १५ जनाको मृत्यु भएको थियो । त्यस्तै, गत अगस्टमा गुजरातको भावनगर जिल्लामा दूषित मदिरा सेवनबाट १३ जनाको मृत्यु हुनुका साथै ६० भन्दा बढी व्यक्ति प्रभावित भएका थिए ।
भारतका विभिन्न क्षेत्रमा अवैध तथा मिसावटयुक्त मदिरा सस्तो मूल्यमा बिक्री हुने गरेको छ । कतिपय स्थानमा एक अमेरिकी डलरभन्दा कम मूल्यमा समेत मदिरा उपलब्ध हुने बताइन्छ ।
मिथानोल अत्यन्त विषाक्त रसायन हो । यसको सेवनले अन्धोपन, कलेजोमा क्षति तथा अन्य गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्छ । बढी मात्रामा सेवन गर्दा यसले मानिसको ज्यानसमेत लिन सक्छ ।