भारतको उत्तर प्रदेशमा तीन दिनदेखि भइरहेको भारी वर्षापछि आएको बाढीमा परी कम्तीमा ६२ जनाको मृत्यु भएको छ। बाढीमा ४६ जना घाइते भएका छन् भने एक हजारभन्दा बढी घरमा क्षति पुगेको राज्य सरकारले जनाएको छ ।
भारी वर्षापछि राज्यका विभिन्न जिल्लामा बाढी आएपछि राजधानी लखनऊसहित केही क्षेत्रमा सोमबार विद्यालयसमेत बन्द गरिएको छ। बाढी प्रभावित क्षेत्रमा उद्धार टोली परिचालन गरी सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ ।
स्थानीय प्रशासनले जलमग्न क्षेत्रमा अनावश्यक यात्रा नगर्न तथा तीव्र गतिमा बगिरहेका नदी, खोला र नालाबाट टाढा रहन सर्वसाधारणलाई आग्रह गरेको छ ।
लखनऊस्थित क्षेत्रीय मौसम विज्ञान केन्द्रका वरिष्ठ वैज्ञानिक अतुल कुमार सिंहका अनुसार बंगालको खाडीमा विकसित मौसम प्रणाली कमजोर हुँदै गएकाले सोमबारदेखि वर्षाको तीव्रता घट्ने अपेक्षा गरिएको छ। यद्यपि, मंगलबारसम्म उत्तर प्रदेशका पूर्वी र पश्चिमी क्षेत्रमा हल्का वर्षा जारी रहन सक्ने उनले बताएका छन् ।
यसैबीच, बाढीको प्रभाव भारतको पूर्वी राज्य ओडिसामा समेत परेको छ। अधिकारीहरूका अनुसार त्यहाँ बाढी प्रभावित क्षेत्रबाट ७५ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।