महोत्तरीको एकडारा गाउँपालिकामा क्रिकेट खेल्न गएका एक बालकको पोखरीमा डुबेर मृत्यु भएको छ ।
एकडारा गाउँपालिका–४ का श्रवण यादवका १० वर्षीय छोरा आलोककुमार यादवको पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता सन्तुलालप्रसाद जैसवालले जानकारी दिएका छन् ।
शनिबार दिउँसो गाउँका साथीहरूसँग सोही पालिका–३ स्थित वनमा रहेको एउटा खेतमा बनाइएको क्रिकेट मैदानमा खेल्न गएका आलोक खेल्दाखेल्दै मैदान नजिकैको पोखरीमा पुगेका थिए । खेलकै क्रममा अनियन्त्रित भएर चिप्लिएर उनी पोखरीमा डुबेको प्रहरीको भनाइ छ ।
बालक डुबेको थाहा पाएपछि स्थानीयबासीले तत्काल उद्धार गरेर नजिकैको स्वास्थ्य संस्थामा लगे पनि चिकित्सकले उनलाई मृत घोषित गरेका थिए ।
प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।