दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटमा लगातार दोस्रो हार बेहोरेपछि लुम्बिनी प्रदेश समूह चरणबाटै बाहिरिएको छ । बिहीबार भएको खेलमा मधेश प्रदेशसँग पाँच विकेटले पराजित भएपछि लुम्बिनीको प्रतियोगितामा अघि बढ्ने सम्भावना समाप्त भएको हो ।
वीरेन्द्रनगरस्थित क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ७९ रन बनाएको थियो ।
लुम्बिनीका लागि ओपनर ऋतु रावलले सर्वाधिक ४१ रन बनाइन् । उनले ५६ बलमा पाँच चौका प्रहार गर्दै अविजित इनिङ्स खेलिन् । सीमा थापाले १० रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
लुम्बिनीलाई सानो योगफलमा रोक्ने क्रममा मधेशकी सुस्मिता यादवले उत्कृष्ट बलिङ गर्दै चार ओभरमा २० रन खर्चेर चार विकेट लिइन् । रोजी कडारीले दुई तथा कप्तान पूजा महतोले एक विकेट हात पारिन्।
८० रनको सामान्य लक्ष्य मधेश प्रदेशले १२.४ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो। मधेशका लागि ओपनर एलिषा यादवले आक्रामक ब्याटिङ गर्दै ३६ बलमा आठ चौकासहित सर्वाधिक ४२ रन बनाइन् । कप्तान पूजा महतोले १५ तथा अनुराधा चौधरीले सात रनको योगदान दिइन् ।
लुम्बिनीकी सरु तिवारीले तीन तथा सुस्मिता भुषाल र सरस्वती पुनले एक–एक विकेट लिए। मधेशलाई जित दिलाउन महत्त्वपूर्ण चार विकेट लिएकी सुस्मिता यादव प्लेयर अफ द म्याच घोषित भइन् ।
यसअघि लुम्बिनी आफ्नो पहिलो खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबसँग पराजित भएको थियो । लगातार दुई खेलमा हार बेहोरेसँगै लुम्बिनीको महिला क्रिकेटतर्फ दसौँ राष्ट्रिय खेलकुदको यात्रा समूह चरणमै समाप्त भएको छ ।