बेरोजगार युवालाई स्वरोजगार बनाउन र आय आर्जनका अवसर सिर्जना गर्न सप्तरीको राजविराजमा २५ दिने मोबाइल मर्मत तालिम सुरु गरिएको छ ।
घरेलु तथा साना उद्योग कार्यालय सप्तरीद्वारा आयोजित उक्त तालिमको उद्घाटन गरिएको हो । नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व सभापति एवम् प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झाले तालिमकाे उद्घाटन गर्दै युवालाई रोजगारमूलक सीप प्रदान गर्न मोबाइल मर्मत तालिम महत्त्वपूर्ण हुने बताउँदै विदेश पलायन रोक्न स्वदेशमै सीपमूलक तालिम सञ्चालनमा सरकारले ठूलो लगानी गरिरहेकाले सहभागी युवाहरुलाई अनुशासित र लगनशील भएर तालिममा सहभागी भई प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न आग्रह गरेका थिए ।
कार्यक्रममा कार्यालय प्रमुख रेखा यादवले मोबाइल मर्मत तालिमले युवालाई स्वरोजगार बनाउन मद्दत गर्ने विश्वास व्यक्त गर्दै गाउँघरमै मोबाइल मर्मत पसल सञ्चालन गरी राम्रो आय आर्जन गर्न सकिने बताइन् । उनले सीपमूलक तालिमले स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न र विदेशमा पनि सीपयुक्त युवालाई रोजगार पाउन सहज हुने उल्लेख गरिन् ।
सप्तरीका विभिन्न स्थानीय तहबाट २५ जना युवाहरु सहभागी तालिममा प्रशिक्षक इन्तियाज शेख र उद्यम विकास सहजकर्ता भाष्कर पाण्डेले मोबाइल मर्मत तालिमको उपयोगिता र महत्त्वबारे प्रकाश पारेका थिए ।
कार्यक्रम घरेलु तथा साना उद्योग कार्यालय सप्तरीकी प्रमुख उद्योग अधिकृत रेखा यादवको अध्यक्षता समपन्न भएकाे थियो ।