बर्दियाको बारबर्दिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक आचार्य मदिरा सेवन गरी उपमेयरको कार्यकक्षमा गएर अभद्र व्यवहार गरेपछि पक्राउ परेका छन् ।
उमेर हदका कारण अवकाश पाउन तीन सातामात्र बाँकी रहेका आचार्यले मंगलबार दिउँसो उपमेयर रत्नकुमारी पाण्डेको कार्यकक्षमा गएर धम्कीपूर्ण अभद्र व्यवहार गरेका थिए ।
उनीसँगै आर्थिक विकास समितिका संयोजक कृष्ण गौतम र सहायक प्राविधिक कर्मचारी नगेन्द्र भण्डारीसमेत उपमेयरको कार्यकक्षमा प्रवेश गरेका थिए । मदिरा सेवन गरेका आचार्यले टेबल ठोक्दै मेयर र उपमेयरलाई "सडक छाप बनाइदिने" र "घर जलाइदिने" धम्की दिएको उपमेयर पाण्डेले बताइन्। विवाद बढेपछि मेयर छविलाल थारुलाई बोलाइएको थियो ।
मंगलबार प्रहरीले पक्राउ गरे पनि लिखित निवेदन नआएकाले उनलाई छोडिएको थियो। तर, बुधबार पुनः पक्राउ गरिएको छ । प्रहरीले मेडिकल परीक्षणमा आचार्य मदिरा सेवन गरेर कार्यालयमा उपस्थित भएको पुष्टि गरेको छ ।
मेयर थारूका अनुसार आचार्यले कार्यालय समयमा नआइ मातहत कर्मचारीहरूलाई अनियमित रूपमा अवकाश पत्र वितरण गर्न खोजेपछि आफूले रोकिदिएको र त्यसपछि आचार्यले फोनमै धम्की दिएको बताए । यसैबीच, आचार्यले फेसबुकमार्फत मेयर छविलाल थारूमाथि "पावर टिलर खरिदमा घुसखोरी" को आरोप लगाएका छन् ।
बुधबार कार्यपालिकाको बैठकले आचार्यलाई सार्वजनिक रूपमा माफी मागेमा उन्मुक्ति दिने निर्णय गरेको थियो। तर, आचार्य माफी माग्न नआएपछि उनलाई पुनः पक्राउ गरिएको हो ।