बाराको सदरमुकाम कलैया स्थित भरत चोकमा निर्माण गरिएको नेपाल–अंग्रेज युद्धको स्मृति स्वरूपको ऐतिहासिक पार्क कलैया उपमहानगरलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ ।
नेपाली सेनाको अगुवाइमा निर्माण गरिएको उक्त पार्कलाई बुधबार एक विशेष कार्यक्रमका बीच कलैया उपमहानगर प्रमुख विनोद साहलाई हस्तान्तरण गरिएको हो । श्री मध्य पूर्वी पृतनाका पृतनापति उपरथी कृष्ण बहादुरले पार्कको साँचो उपमहानगर प्रमुख साहलाई हस्तान्तरण गरेका हुन् ।
यो पार्क सन १८१४ देखि १८१६ सम्म बारागढीमा भएको नेपाल–अंग्रेज युद्धको स्मृति र प्रतीकस्वरूप निर्माण गरिएको हो । नेपाली सेनाले आफ्नै स्रोत र श्री मध्य पूर्वी पृतना हेडक्वार्टरको निर्देशन तथा श्री नं. २८ वाहिनी अड्डाको सुपरिवेक्षणमा श्री ज्वालादल गणद्वारा सिघ्र प्रभावी योजना अन्तर्गत पार्क निर्माण गरिएको हो ।
पार्क हस्तान्तरणसँगै भरतचोकमा झण्डोत्तोलन कार्यक्रम पनि सम्पन्न गरिएको थियो । कार्यक्रममा बोल्दै उपरथी कृष्ण बहादुरले, “पार्कको निर्माण मात्र होइन, यसको संरक्षण र सम्वर्द्धन पनि सबै नागरिकको साझा जिम्मेवारी हो,” भन्दै सबैलाई यसप्रति जागरूक रहन आग्रह गरे ।
पार्कमा नेपाल–अंग्रेज युद्धको ऐतिहासिक जानकारीसहित स्थानिय जनताले नेपाली सेनालाई गरेको सहयोगको बखान गरिएको शिलालेख राखिएको छ । साथै, युद्धको साहसिक स्मरणमा दुई जना सिपाहीको प्रतिमा पनि स्थापना गरिएको ज्वालादल गणका गणपती प्रमुख सेनानी कुमार खड्काले जानकारी दिए ।