वीरगन्ज | पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर ३, सोनवर्षामा निर्माण गरिएको सुविधासम्पन्न स्वास्थ्य चौकी भवनको शुक्रबार उद्घाटन गरिएको छ । जिल्ला समन्वय समिति पर्साका प्रमुख अजय सर्राफले उक्त भवनको औपचारिक समुद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष दिनेश चौधरी, उपाध्यक्ष ममता महत्तो र प्रमुख प्रशासकीय अधिकृत प्राण मेहतको पनि उपस्थिति थियो ।
गाउँपालिका उपाध्यक्ष महत्तोका अनुसार सो दुई तल्ले भवन करिब ८० लाख रुपैयाँको लागतमा निर्माण गरिएको हो । यसमा जिल्ला समन्वय समितिको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत लगानी रहेको उनले जानकारी दिइन् । नवनिर्मित भवनमा ओपीडी, लेबर रुमसहित कुल ६ वटा कोठा र शौचालय रहेका छन् । गाउँपालिका अध्यक्ष चौधरीले वडामा पहिले स्वास्थ्य चौकी नहुँदा नागरिकहरूलाई समस्याको सामना गर्नु परेको बताए । संघीय संरचनाअनुसार अब वडा नम्बर ३ का बासिन्दाहरूले आफ्नै वडामै स्वास्थ्य सेवा पाउने सुविधा पाउने भएपछि सेवा प्रवाह सहज हुने उनको भनाइ थियो। साथै उनले उक्त स्वास्थ्य चौकीबाट छिट्टै प्रसूति सेवा पनि सुरु गर्ने तयारी भइरहेको जनाए ।
वडाध्यक्ष माधवप्रसाद राय थारुको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष चौधरी र उपाध्यक्ष महत्तोको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा वडा नम्बर २ का वडाध्यक्ष विजय गैरे, गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख भोजेन्द्र यादव, स्वास्थ्य चौकी इन्चार्ज दिपनारायण चौधरी, महिला स्वास्थ्य स्वयंसेविका र स्थानीय अगुवाहरूको उपस्थिति रहेको थियो ।