रौतहट | नेपाल–भारत सीमावर्ती क्षेत्र रौतहटको मौलापुरमा प्रहरीले एक भारतीय नागरिकलाई ६ लाख ५८ हजार रुपैयाँ नगदसहित पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको टोलीले सोमबार मौलापुर नगरपालिका-६ स्थित पथराबुधराम सडक खण्डमा चेकजाँच गर्दा भारतीय नागरिकलाई उक्त रकमसहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारत बिहार राज्य मोतिहारी जिल्लाको कुंडवा चैनपुर ग्राम पंचायत निवासी २३ वर्षीय राज किशोर ठाकुर रहेको र उनले चलाएको बिआर.०५ एसी ९४७७ नम्बरको मोटरसाइकलको सिट मुनि लुकाएर नगद रकम राखेको पाइएको प्रहरीले जनाएको छ ।
बरामद नगद रकम भारतीय रुपैयाँ ५ सय दरका ६ सय थान र नेपाली रुपैयाँ १ हजार दरका ३५८ थान रहेको बताइएको छ ।
प्रारम्भिक अनुसन्धानबाट उक्त रकम अवैध रूपमा नेपाल भित्र्याइएको आशंका गरिएको छ। ठाकुरले रकमको स्रोत र उद्देश्य बारे स्पष्ट विवरण नदिएको भन्दै उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।