धनगढी । कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका–१० स्थित शिवनगरमा मंगलबार बिहान जलेको अवस्थामा एक शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार घटियाघाट रोड नजिक तोरीको भुसमा लागेको आगोमा मोटरसाइकलसहित जलेको शव फेला परेको हो । बिहान करिब पौने ७ बजेको समयमा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीका अनुसार आगो लागेको ठाउँमा मोटरसाइकल पनि जलेको अवस्थामा भेटिएको छ । शव पूर्णरूपमा जलेको भएकाले सनाखत हुन सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले आसपासका क्षेत्रका सीसीटीभी फुटेज संकलन गर्ने, हराइरहेका व्यक्तिहरुको विवरण संकलन गर्ने लगायतका अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ ।