संस्कृत वाङ्मय तथा आधुनिक विषयमा अनुसन्धानात्मक कार्यलाई प्रवर्द्धन गर्न याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ, मटिहानीमा अनुसन्धान व्यवस्थापन एकाइ गठन गरिएको छ ।
विद्यापीठका उपप्राध्यापक टीकाराम नेपाल संयोजक, चिरञ्जीवी खतिवडा सदस्य सचिव तथा नारायण सत्याल, मनोरमा झा र श्रीधर आचार्य सदस्यमा नियुक्त भएका छन् । प्राप्त आवेदनको आधारमा अनुसन्धानात्मक लेखन र शैक्षिक उपाधिका क्षेत्रमा क्रियाशील प्राध्यापकहरूबाट एकाइ गठन गरिएको विद्यापीठले जनाएको छ ।
नियुक्तिपत्र हस्तान्तरण गर्दै प्राचार्य हेमनारायणलाल कर्णले अनुसन्धानात्मक कार्यले विद्यापीठको शैक्षिक गतिविधिमा गति ल्याउने विश्वास व्यक्त गर्नुभयो । संयोजक उपप्राध्यापक नेपालले अनुसन्धान कार्यविधिमा तोकिएका उद्देश्यहरू हासिल गर्न टिम सक्रिय भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
एकाइका प्रमुख उद्देश्यहरूमा अनुसन्धानात्मक जर्नल प्रकाशन, अनुसन्धानसम्बन्धी गोष्ठी तथा सेमिनार आयोजना, लघु अनुसन्धान सञ्चालन र संस्कृत वाङ्मय एवं आधुनिक विषयहरूमा अनुसन्धान कार्यक्रमहरू सञ्चालन गर्नु रहेका छन् ।