पर्सा जिल्लाको पर्सागढी नगरपालिकामा इट्टा भट्टाको खाल्डोमा डुबेर दुई बालिकाको मृत्यु भएको छ ।
पर्सागढी नगरपालिका–५ बहुअर्वास्थित हिरा इट्टा उद्योग नजिक माटो खनेर बनेको खाल्डोमा पानी जमेर डुब्दा दुई बालिकाले ज्यान गुमाएका हुन् । मृत्यु हुनेमा सोही स्थानका रुस्तम मियाँकी ५ वर्षीया छोरी नेहा खातुन र मुख्तार मियाँकी ५ वर्षीया छोरी अफसाना खातुन रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी किशोर लम्सालले जानकारी दिए ।
प्रहरीका अनुसार दिउँसो दुवै बालिका बाख्रा चराउन निस्केका बेला इट्टा बनाउने क्रममा खनिएको खाल्डोमा पुगेका थिए । त्यही खाल्डोमा पानी जमेको अवस्थामा उनीहरू डुबेर बेहोस भएका थिए । घाइते अवस्थामा तत्कालै उद्धार गरी उपचारका लागि नारायणी अस्पताल लगिएको भए पनि उपचारकै क्रममा दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उक्त खाल्डो बहुअर्वास्थित सन्तोष साहद्वारा सञ्चालित हिरा इट्टा उद्योगले माटो खनी निर्माण गरेको हो । तर माटो खनेपछि सुरक्षाका लागि कुनै व्यवस्थित व्यवस्था नगरी छाडिएको भन्दै स्थानीय बासिन्दाले आक्रोश व्यक्त गरेका छन् ।