सिरहाको लहान नगरपालिका–३ दंग्राहा टोलमा समान्य विवादले हिंसात्मक रूप लिँदै खुकुरी प्रहारसम्म पुगेको छ । मोटरसाइकलले छोएको निहुँमा एक युवकमाथि भएको खुकुरी आक्रमणका कारण टोलमा त्रास फैलिएको छ ।
२७ वर्षीय देवकुमार महतोमाथि बुधवार साँझ खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ । टाउको, घाँटी र ढाडमा गहिरो चोट लागेका देवकुमारको अहिले लहानस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । चिकित्सकले उनको अवस्था खतरामुक्त रहेको जनाएका छन् ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ६२ वर्षीय जिवछ महतो, उनकी पत्नी ६० वर्षीया सीता देवी महतो, र २१ वर्षीय छोरा मनिष महतोलाई पक्राउ गरेको छ । मुख्य आक्रमणकारी मानिएको जिवछका १९ वर्षीय छोरा मुकेश महतो भने अझै फरार छन् ।
यस्तो थियो घटना
प्रहरीका अनुसार घटनाको सुरुवात जिवछका छोरा मनिष महतोले चलाएको मोटरसाइकलले देवकुमार महतोको खुट्टा छोएपछि विवाद भएको थियो । विवाद क्रमशः बढ्दै गयो र केही समयमै जिवछ महतोको परिवारले समातेर देवकुमारमाथि कुटपिट गरे ।
त्यसक्रममा मुकेश महतोले खुकुरी बोकेर आएका थिए र उनले बारम्बार देवकुमारमाथि प्रहार गरेको भिडियोमा स्पष्ट देखिन्छ । भिडियोमा अन्य परिवारजनले देवकुमारलाई समातेको र मुकेशले हानिरहेको देखिएको छ ।
घटनापछि पीडित पक्षले इलाका प्रहरी कार्यालय, लहानमा ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता गराएका छन् । प्रहरी प्रवक्ता डीएसपी विरेन्द्रकुमार पासवानले घटनामा संलग्न तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको र फरार मुकेश महतोको खोजी तीव्र पारिएको जानकारी दिए ।
प्रहरीले घटनास्थलको भिडियो, प्रत्यक्षदर्शीको बयान र चिकित्सकीय रिपोर्टलाई प्रमाणका रूपमा राख्दै अनुसन्धान गरिरहेको छ ।