वीरगंज | भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा वीरगञ्जस्थित मकालु होटलमा आज “धान, गहुँ, तरकारी तथा उखुबालीहरूको लाभ–लागत विश्लेषण” विषयक एकदिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
कार्यक्रमको उद्देश्य बाली उत्पादनको लागत, प्रतिफल तथा बजार सम्भावनाका विषयमा कृषक, विज्ञ र नीतिनिर्माताबीच जानकारी आदान–प्रदान गर्नु रहेको थियो । कार्यशालामा मन्त्रालयका सचिव डा. उमेश दाहालले अध्यक्षता गर्नुभयो भने कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्री प्रमुख अतिथि रहनुभयो।
मन्त्री क्षेत्रीले कृषिमा प्रविधिको प्रयोग, सहकारी सशक्तीकरण र बजार पहुँच विस्तारका माध्यमबाट उत्पादन लागत र किसानको प्रतिफलबीचको असन्तुलन हटाउन सरकारले विशेष पहल गरिरहेको जानकारी दिनुभयो।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, कृषि विकास निर्देशनालयका प्रमुख जितेन्द्र यादवलगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो । वक्ताहरूले बाली व्यवस्थापन, अनुदान नीति, कृषक चुनौती र बजार सुधारका विषयमा धारणा राखे।
कार्यक्रममा प्रदेशभरिका कृषि अधिकारी, कृषक प्रतिनिधि, सहकारी संस्था र कृषि व्यवसायीहरूको उल्लेख्य सहभागिता रहेको थियो । धान, गहुँ, तरकारी तथा उखु बालीहरूको लागत र प्रतिफलको तुलनात्मक विश्लेषण प्रस्तुत गरिएको थियो ।
कार्यक्रम संयोजक रामेश्वर मल्लले कार्यशालाबाट संकलित सुझावहरू आगामी कृषि नीतिमा समावेश गरिने जनाउँदै, नीति निर्माणमा यस्ता छलफलहरू फलदायी हुने बताए । समापन मन्तव्यमा सचिव डा. दाहालले कृषकको जीवनस्तर सुधार गर्न नीतिगत तथा कार्यान्वयन तहमा अझ प्रभावकारी सुधार आवश्यक रहेको धारणा व्यक्त गरे ।