रौतहट | रौतहटको चन्द्रपुर नगरपालिका–१० स्थित चेतनगर बजारमा औषधी पसल सञ्चालनको आडमा प्रतिबन्धित लागूऔषध बिक्री गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको टोलीले आइतबार लागूऔषध ट्रामाडोलसहित मौलापुर नगरपालिकाका २९ वर्षीय जितेन्द्र साहलाई पक्राउ गरेको जनाएको छ । साहले चेतनगरमा औषधी पसल संचालन गर्दै आएका छ्न ।
स्थानीयका अनुसार साहले चिकित्सा व्यवसायको नाममा लामो समयदेखि लुकिछिपी लागूऔषधको कारोबार गर्दै आएका थिए ।
प्रहरीले गुप्त सूचनाका आधारमा सादा पोसाकमा खटिएको टोलीमार्फत छापा मारेर साहको फार्मेसीबाट प्रतिबन्धित लागूऔषध ट्रामाडोलका ४ हजार ५ सय वटा ट्याब्लेट बरामद गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए ।
जबरामद लागू औषधसहित साहलाई नियन्त्रणमा लिइएको प्रमुख राइले बताए ।
अनुसन्धानका क्रममा साहले बागमती, चन्द्रनिगाहपुर र वरपरका क्षेत्रका युवाहरूलाई नियमित रूपमा लागूऔषध उपलब्ध गराउँदै आएको तथ्य खुलेको र लागुऔषध नियन्त्रण एन अनुसार कारवाही अगाडि बढाइएको प्रमुख राईले बताए ।