मधेश आन्दोलनका सहिद परिवारहरूले विभिन्न मागसहित मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालय अगाडि जारी राखेको धर्ना आज दोस्रो दिन पनि यथावत् रहेको छ ।
‘एक सहिद, एक रोजगार’ कार्यक्रम खारेज गर्ने सरकारको तयारीप्रति असन्तुष्टि जनाउँदै उनीहरू आन्दोलित बनेका हुन् ।
मधेश आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरुको परिवारले राज्यबाट आश्वासन पाएका सुविधा र अवसरहरू कटौती गर्न खोजिएको भन्दै विरोध प्रदर्शन चर्किएको छ । धर्नामा बसेका सहिद परिवारका सदस्यहरू रोजगारी, स्वास्थ्य बिमा, र प्रतिष्ठानमा प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने माग राखिरहेका छन् ।
धर्नामा सहभागी एक आन्दोलनकारीले भने, “हामीले आफ्ना छोराछोरी, श्रीमान् गुमायौं । सरकारले सम्मान गर्ने त परै जाओस्, अहिले दिइएको थोरै सुविधा पनि कटौती गर्न खोजिरहेको छ । यसविरुद्ध हामी लड्न तयार छौं ।”
धर्नाकारीहरूको मुख्य माग यस प्रकार छन्:
-
‘एक सहिद, एक रोजगार’ कार्यक्रम अन्तर्गत नियुक्त भएका सहिद परिवारका सदस्यहरूको रोजगारी सुरक्षित गरिनुपर्ने ।
-
मधेसी सहिद प्रतिष्ठानमा रिक्त दुई पदमा तत्काल सदस्य नियुक्त गर्नुपर्ने ।
-
सबै सहिद परिवारको पूर्ण स्वास्थ्य बिमा गर्नुपर्ने ।
-
मधेश आन्दोलनको योगदानको सम्मानस्वरूप विशेष सामाजिक र आर्थिक कार्यक्रम ल्याइनुपर्ने ।
यसबाहेक, सहिद परिवारहरूले जनमत पार्टी नेतृत्वको वर्तमान प्रदेश सरकारले मधेश आन्दोलनका सहिदहरूको योगदानप्रति बेवास्ता गरिरहेको अाराेप लगाएकाे छ । फागुन महिनामै प्रतिष्ठानका दुई पद रिक्त भए तापनि सरकारले कुनै चासो नदिएको उनीहरूको भनाइ छ ।
धर्नालाई समर्थन जनाउँदै विभिन्न मधेसी संघ–संस्थाहरू, नागरिक समाजका प्रतिनिधि तथा अधिकारकर्मीहरू पनि धर्नास्थलमा पुगिरहेका छन् । सामाजिक सञ्जालमार्फत पनि धर्नाको विषयले चर्चा पाइरहेको छ ।