वीरगंज । गण्डक–घण्टाघर–मितेरी पुलसम्मको सडक विस्तार गर्दा भत्काइने भनिएको घना आवादी क्षेत्रबारे उठेको विवादलाई सम्बोधन गर्दै सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले उक्त क्षेत्र जोगाउन आग्रह गर्नुभएको छ ।
सडक डिभिजन कार्यालय हेटौंडाको योजनाले हजारौँ नागरिक विस्थापित हुने, सयौँ घर भत्किने र रोजगारी गुम्ने अवस्था सिर्जना गर्ने भन्दै स्थानीयले विरोध गर्दै आएका छन् ।
स्थानीयको मागमा सहमति जनाउँदै मन्त्री गुप्ताले भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसँग छलफल गरी समस्या समाधानमा पहल गर्नुभएको हो । छलफलमा मन्त्री दाहालले मन्त्रालयसँग यस्तो योजना नरहेको र अनावश्यक रूपमा निजी सम्पत्ति भत्काइँदैन भन्ने स्पष्ट पार्नुभएको छ ।
संघर्ष समितिका संयोजक कुन्दन रौनियारका अनुसार डिभिजन कार्यालयको सूचना अनुसार सडक विस्तार गर्दा एक हजार ५०० घर भत्किने, ऐतिहासिक सम्पदाहरू नष्ट हुने र करिब एक लाख मानिस प्रभावित हुने देखिएको छ ।
पूर्वमेयर, स्थानीय नेताहरू, र संघर्ष समितिका प्रतिनिधिसँगको सहकार्यमा मन्त्री गुप्ता र दाहालले जनताको भावना अनुसार समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।