वीरगंज महानगरपालिकाले बुधबार होटल व्यवसायीहरूसँग छलफल गर्दै व्यवसाय दर्ता, कर प्रणाली सुधार, भवन नक्सा पास प्रक्रिया सहज बनाउने, र वीरगंजलाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने योजनाबारे जानकारी गराएको छ ।
महानगरका मेयर राजेशमान सिंहको अध्यक्षतामा सम्पन्न छलफलमा होटल व्यवसायीहरूलाई कानुनी दायरामा ल्याउँदै, करदाताका रूपमा थप सजिलो वातावरण बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । महानगर प्रमुख सिंहले महानगर क्षेत्रमा सञ्चालित सबै होटलले अनिवार्य रूपमा व्यवसाय दर्ता गर्नुपर्ने आवश्यकता औँल्याउँदै घरबहाल कर, सम्पत्ति कर, र अन्य करहरू समयमै तिर्न व्यवसायीलाई आग्रह गरेका थिए । उनले “महानगर व्यवसायमैत्री नीति लिएको छ । करको दायरा बढाउने भए पनि करको दर व्यवसायीलाई सहज हुने गरी तोकिनेछ ।” यसमा साथ दिनुपर्याे ।
महानगरले विभिन्न स्थानमा पार्क निर्माण, सडक सौन्दर्यकरण र अन्य पूर्वाधार विकासका काम अघि बढाइरहेको जानकारी दिँदै सिंहले यसले वीरगंजलाई पर्यटकमैत्री शहर बनाउन सघाउने उल्लेख गरेका थिए । आगामी नीति तथा कार्यक्रममा पर्यटन प्रवर्द्धनसँगै होटल व्यवसायीहरूको सुझावलाई प्राथमिकता दिइने उनको भनाइ थियो । साथै, सेवाहरू डिजिटल बनाउँदै व्यवसाय दर्तादेखि कर भुक्तानीसम्मका सबै प्रक्रिया ‘एकद्वार सेवा प्रणाली’ मार्फत सरल बनाउने योजना रहेको मेयर सिंहले जानकारी गराएका थिए ।
छलफलमा पर्सा होटल व्यवसायी संघका अध्यक्ष हरि पन्तले व्यवसायीहरू कानुनी रूपमा व्यवसाय सञ्चालन गर्न तयार रहेको तर व्यवसाय दर्ता प्रक्रिया अझै पनि जटिल र ढिलो हुने समस्याले व्यवसायी हतोत्साहित भएको बताए । उनले “दर्ता प्रक्रिया छिटो, पारदर्शी र सहज बनाउनुपर्छ । महानगरबाट सकारात्मक सहजीकरण भयो भने हामी पूरै साथ दिन तयार छौं,” उनले बताए ।
पन्तले वीरगंजमा पर्यटकीय गतिविधि बढाउन कल्चरल कार्यक्रम, मेला महोत्सव, र गन्तव्य प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए ।
यस्तै, व्यवसायी माधव बस्नेतले व्यवसाय सञ्चालन गर्नुअघि धेरै चरणको प्रक्रिया पार गर्नुपर्ने, कर प्रणाली बुझ्न गाह्रो हुने, र भवन नक्सा पासमा झन्झट हुने समस्याहरू समाधान गर्न आग्रह गरेका थिए ।
छलफलमा महानगरको आर्थिक विकास महाशाखा प्रमुख राजकृष्ण ताम्राकार, राजश्व शाखा प्रमुख नवराज थापा, नक्सा शाखा प्रमुख गौरव झा लगायत महानगरका अन्य पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।