सर्लाहीको बलरा नगरपालिका–२ जमुनियामा एक भारतीय नागरिक नक्कली नेपाली नोटसहित पक्राउ परेका छन् ।
भारतबाट नेपाल प्रवेश गर्ने क्रममा चेकजाँचका क्रममा प्रहरीले उनलाई पक्राउ गरेको हो । छन्कीटोलास्थित प्रहरी चौकीबाट खटिएको टोलीले बिहीबार साँझ भारततर्फबाट आइरहेको बीआर ३० एई ८३६३ नम्बरको मोटरसाइकललाई शंका लागेर जाँच गर्दा भारतीय नागरिक ३४ वर्षीय विश्वनाथ साहको साथबाट नक्कली नोट फेला पारेको हो ।
पक्राउ परेका साह भारतको बिहार राज्य अन्तर्गत सितामढी जिल्लास्थित मधुकरपुर गाउँपालिका–९ का बासिन्दा हुन् । उनको साथबाट नेपाली हजार दरका आठ थान नक्कली नोट बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।
उनकाे साथबाट नेपाली रुपैयाँ ४ हजार ५ सय ९० र भारतीय रुपैयाँ ६ हजार ३ सय ४५ समेत फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार साहलाई नियन्त्रणमा लिएर मोटरसाइकलसहित आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा राखिएको छ । सर्लाही जिल्ला अदालतबाट म्याद थप गरेर थप अनुसन्धान अगाडि बढाइएको छ ।
प्रहरी स्रोतका अनुसार पछिल्लो समय सीमा क्षेत्रमा नक्कली नोट कारोबार सक्रिय भइरहेको पाइएको छ ।