नेपालकै अग्रणी इन्टरनेट सेवा प्रदायक संस्था वर्ल्डलिंक कम्युनिकेशन लिमिटेडले गत वर्षको सफलताको पुनरावृत्ति गर्दै “Beat The Speed: Season 2” क्रिकेट अभियानको दोस्रो संस्करण सुरु गर्न लागेको छ ।
तीव्र गतिका बलरहरूको पहिचान र प्रवर्द्धन गर्ने उद्देश्यले सुरु गरिएको यो कार्यक्रम २०७८ साल जेठ २ गते (१६ मे २०२५), शुक्रबारका दिन आदर्श नगर ग्राउन्ड, वीरगञ्जमा आयोजना हुने भएकाे छ । कार्यक्रममा सहभागी भएका बलरहरूको स्पीड गन प्रविधिको प्रयोगबाट बलिङ स्पीड परीक्षण गरिनेछ र उत्कृष्ट बलरहरूको छनोट गरिनेछ । जिल्लाभरिका सबै उमेर समूहका इच्छुक खेलाडीहरूलाई सहभागी हुन आमन्त्रण गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रमको जानकारी दिंदै वर्ल्डलिंक कम्युनिकेशन लिमिटेड, वीरगञ्ज शाखाका प्रमुख सुचित पौडेलले स्थानीय प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पु¥याउने उद्देश्यले यो अभियानले गत वर्ष उत्साहजनक सफलता पाएको र यसपटक झन व्यापक सहभागिता अपेक्षा गरिएको बताए।
उक्त अभियानले देशभरिका प्रतिभाशाली युवा बलरहरूलाई पहिचान गर्दै उनीहरूको करियरलाई सघाउन ठूलो टेवा पुर्याउने विश्वास गरिएको छ । विशेषगरी, ग्रामीण तथा अर्धशहरी क्षेत्रका लुकेका खेलाडीलाई यस्तो प्लेटफर्मबाट फाइदा पुग्नेछ । आयोजकका अनुसार छनोट भएका उत्कृष्ट बलरहरूलाई पुरस्कृत गरिनेछ र उनीहरूलाई आगामी चरणमा खेल्नको लागि तयारी अवसर पनि दिइनेछ ।