पर्सा | पोखरिया नगरपालिका वडा नं ४ स्थित आजाद मदरसा तालिमुल कुरआनमा आयोजित दुई दिने इस्लाह-ए-मोआशरा तथा दस्तारबन्दी जल्सा कार्यक्रम भव्य रूपमा शुभारम्भ भएको छ ।
धार्मिक चेतना, सामाजिक सुधार तथा इस्लामिक शिक्षाको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा हजारौँको संख्यामा धर्मप्रेमी, स्थानीय बासिन्दा र अतिथिहरूको सहभागिता देखिएको थियो ।
कार्यक्रमको प्रमुख आकर्षण पहिलो दिनको इज्लास-ए-त्तम इस्लाह-ए-मोआशरा (सामाजिक सुधारको प्रवचन) तथा दोस्रो दिनको दस्तारबन्दी (इस्लामिक दीक्षान्त समारोह) रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री माननीय जनार्दन सिंह क्षेत्रीले आफ्नो सम्बोधनमा धार्मिक सहिष्णुता, आपसी सद्भाव र शिक्षाको महत्वमा जोड दिँदै यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उल्लेख गर्नु भयो ।
विशिष्ट अतिथिमा पोखरिया नगरपालिकाका नगर प्रमुख प्रधुमन प्रसाद चौहान, वीरगन्ज महानगरपालिकाका उप–मेयर इम्तियाज आलम, पूर्व सांसद हरिनारायण रौनियार, उप–मेयर रुबी कुमारी ठाकुर, पूर्व मेयर दिपनारायण रौनियार, नेजामोद्दिन समानी, पूर्व सांसद रामेश्वर रौनियार, नेपाली कांग्रेसका श्रीकुशन चौहान, सकिम मियाँ, आशा चौहान, वडा अध्यक्ष लक्ष्मण साह कानु, वडा अध्यक्ष नौसाद आलम, सोनालाल साह गोड, मेयर प्रत्याशी इस्तेखार आलम, र जल्सा सभापति खैरुल्लाह मियाँको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको सभापतित्व जल्सा कमिटी अध्यक्ष खैरुल्लाह मियाँले गरेका थिए भने सम्पूर्ण कार्यक्रमको सञ्चालन सहजकर्ताका रूपमा गनी अन्सारीले प्रभावकारी रूपमा गर्नुभएको थियो ।
कार्यक्रममा देशका विभिन्न भागबाट आएका इस्लामिक विद्वानहरूले सामाजिक सुधार, धार्मिक अनुशासन, शिक्षा र इस्लाम धर्मको सहिष्णु पक्षबारे प्रवचन दिएका थिए । साथै, मदरसा तालिमुल कुरआनबाट अध्ययन पूरा गरेका विद्यार्थीहरूको सम्मानमा दस्तारबन्दी कार्यक्रमसमेत सम्पन्न भएको छ, जसले नयाँ पुस्तामा धार्मिक चेतना र जिम्मेवारीको भावना बढाउने विश्वास गरिएको छ ।
