वीरगंज महानगरपालिका वडा नम्बर १६ स्थित नगवामा करिब ४ करोड ५० लाख रुपैयाँको लागतमा निर्माण हुने खानेपानी ओभरहेड ट्यांकीको शिलान्यास गरिएको छ ।
शनिबार आयोजित विशेष कार्यक्रममा संघीय सरकारका खानेपानी मन्त्री प्रदीप यादवले उक्त ट्यांकीको शिलान्यास गरेका हुन् । खानेपानी मन्त्रालयको ‘नगवा खानेपानी योजना’ अन्तर्गत सुरु गरिएको उक्त योजनामा ४५० घनमिटर क्षमताको ओभरहेड ट्यांकी निर्माण गरिनेछ ।
कार्यक्रमका प्रमुख अतिथि मन्त्री यादवले उक्त आयोजनाबाट नगवा र आसपासका क्षेत्रका बासिन्दाहरूलाई शुद्ध, सुरक्षित र व्यवस्थित रूपमा खानेपानी आपूर्ति गरिने विश्वास व्यक्त गरे । उनले भने, “खानेपानीजस्तो आधारभूत सेवाको पहुँच सबै नागरिकसम्म पुर्याउनु सरकारको कर्तव्य हो। यो आयोजना समयमै सम्पन्न भई स्थानीयलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ ।”
शिलान्यास कार्यक्रममा वीरगंज महानगरपालिकाका मेयर तथा नेपाल खानेपानी संस्थान सञ्चालक समितिका सदस्य राजेशमान सिंहले वडा नम्बर १६ का बासिन्दाहरूले अब सहज रूपमा स्वच्छ र शुद्ध पानी पाउने बताए। उनले मन्त्री यादवलाई यस्तो महत्वाकांक्षी परियोजना अघि सारेकोमा धन्यवादसमेत दिए ।
कार्यक्रम वडा नम्बर १६ की वडा सदस्य लवंगी देवीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा नेपाल खानेपानी संस्थानका महाप्रबन्धक अर्जुनबाबु ढकाल, जसपाका पर्सा जिल्ला अध्यक्ष सिंघासन साह तेली, जिल्ला समन्वय समिति पर्साका प्रमुख अजय सर्राफ, पूर्व प्रदेशसभा सदस्य जन्नत अन्सारी, जसपाका केन्द्रीय सदस्य पुरषोत्तम लाल झा, मधुमाया यादव, संघीय परिषद सदस्य असलम आलम, भूमि समस्या समाधान आयोग पर्साका अध्यक्ष तबरेज अहमद, वीरगंज–१५ का वडाध्यक्ष रमेश यादव लगायतको उपस्थिति थियो ।