सुर्खेत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारमाथि कडा आरोप लगाएका छन् । सोमबार वीरेन्द्रनगरमा आयोजित वाइसिएल नेपाल कर्णाली प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले वर्तमान सरकार दलाल, बिचौलिया र भ्रष्टाचारीहरूको मिलेमतोमा चलिरहेको दाबी गरे ।
उनले भने, ‘‘प्रचण्डको शेरा दरबारमा छ भने फाइल खोल भनेको थिएँ, तर उनीहरुले हिम्मत गरेनन्, किनकी मेरो केही थिएन । हामीले सुशासन, न्याय र समानताको कुरा गरेका छौँ ।’’
प्रचण्डले समाजवादको आधार निर्माण गर्न थालेपछि आफू सरकारबाट बाहिरिनु परेको बताए । उनका अनुसार भ्रष्टाचारविरुद्धको लडाइँ केहीलाई मन नपरेकोले सरकारबाट अलगिनुपर्ने अवस्था आएको हो ।
सम्मेलनमा उनले कर्णालीको विकासप्रति हालको सरकार उदासीन भएको आरोप पनि लगाए । उनले प्रधानमन्त्री हुँदा चीन भ्रमणमा हिल्सा क्षेत्रको विकासका लागि सम्झौता गरिएको तर अहिलेको सरकारले नीति तथा कार्यक्रममा समेटिएका विशेष योजना हटाएको बताए । ‘‘यो सरकारले फेरि कर्णालीमाथि विभेद गर्दै छ, कर्णालीलाई पछाडि पार्ने प्रयास भइरहेको छ,’’ प्रचण्डको भनाइ छ ।