पर्सा । पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका–५ मा नवनिर्मित वडा कार्यालय भवनको बुधबार एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । पूर्वउद्योगमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले सो भवनको उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै पूर्वमन्त्री रिजालले लोकतन्त्र र संघीयताको अनुभूति जनतामा दिलाउनका लागि गाउँठाउँको विकास आवश्यक रहेको बताए । विकास निर्माणका काममा सबै दल एकजुट हुनुपर्नेमा पनि उनले जोड दिए ।
गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले अब आफ्नै भवनबाट सेवा प्रवाह हुँदा कर्मचारीलाई सहज हुने र सेवाग्राही लाभान्वित हुने विश्वास व्यक्त गरे। उनले पालिकाका सबै वडामा विकासलाई प्राथमिकतामा राखेको बताए ।
दुई तल्ले वडा कार्यालय भवन निर्माणका लागि जिल्ला समन्वय समिति पर्सा र जगरनाथपुर गाउँपालिकाको संयुक्त लगानीमा १ करोड १० लाख रुपैयाँ खर्च भएको प्रमुख प्रशासकीय अधिकृत सन्देश यादवले जानकारी दिए ।
वडाध्यक्ष बिहारी महतो नुनियाको अध्यक्षता, पूर्वमन्त्री रिजालको प्रमुख आतिथ्यता र प्रदेशसभा सदस्य शंकर चौधरी, उपाध्यक्ष बबीता सिंह क्षेत्री, प्रमुख प्रशासकीय अधिकृत सन्देश यादव लगायतको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो ।