जानकी महिला जागरण समाज, धनुषाले कानुनी सहायता तथा परामर्श केन्द्रको सहकार्यमा वीरगंज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमसँग लैङ्गिक हिंसा न्यूनीकरण सम्बन्धमा विशेष छलफल कार्यक्रम आयोजना गरेको छ ।
वीरगंजस्थित उपप्रमुखको कार्यकक्षमा सम्पन्न उक्त छलफल कार्यक्रममा महिलामाथि भइरहेका दमन, हिंसा तथा लैङ्गिक विभेदका घटना रोकथाम तथा पीडितलाई न्यायिक सहयोग पुर्याउने उपायबारे बृहत् छलफल गरिएको थियो ।
कार्यक्रममा उपप्रमुख आलमले लैङ्गिक हिंसा अन्त्य गर्न स्थानीय सरकार पूर्णरूपमा प्रतिबद्ध रहेको बताउँदै भने, “महिलामाथिको हिंसा अन्त्यका लागि कानुनी तथा सामाजिक चेतनामूलक कार्यक्रमहरूमा महानगरले पूर्ण सहयोग गर्नेछ । सामाजिक विकृति रोक्न समुदायमै पुगेर काम गर्नुपर्छ, त्यसका लागि जानकी महिला जागरण समाजजस्ता संस्थाहरूको भूमिकालाई स्वागतयोग्य ठानिन्छ ।”
उपप्रमुख आलमले महानगरको न्यायिक समितिमार्फत पीडित महिलाहरूले दर्ता गरेका उजुरीहरूको कानुनी छिनोफानो छिटो र प्रभावकारी बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।
छलफलमा जानकी महिला जागरण समाजका कार्यकारी निर्देशक राजन नेपाल, अधिवक्ता जुली कर्ण, कार्यक्रम संयोजक संजय पौडेललगायत सहभागी थिए। कार्यक्रममा सहभागीहरूले महिलामाथिको हिंसा र दमनमा कानुनी पहुँच अभाव, सुरक्षाको कमी, परम्परागत सोच र राज्यको कमजोर हस्तक्षेपले समस्या झन जटिल बनाएको बताएका थिए ।
कार्यक्रमका प्रेस समन्वयक महमद सदाबले छलफल कार्यक्रमको उद्देश्य लैङ्गिक हिंसा अन्त्य तथा महिला सशक्तीकरणका लागि नीति निर्माण तहमै पहुँच पुर्याउने रहेको जानकारी गराएका थिए ।
संस्थाले निकट भविष्यमै वीरगञ्जका विभिन्न वडामा हिंसा विरुद्धको सचेतना अभियान, पीडित सहायता शिविर, समुदायस्तरीय संवाद तथा न्यायिक प्रक्रिया सहज गराउने कार्ययोजना अघि बढाउने जनाएको छ ।