बाराको निजगढ नगरपालिका र जितपुरसिमरा उपमहानगरपालिका क्षेत्रमा हावाहुरीले सयौं केरा खेती किसानको आशामा बज्रपात पारेको छ ।
पाक्ने अवस्थामा रहेका केरा बोटहरू ढलेपछि व्यावसायिक रूपमा खेती गर्दै आएका किसानहरू ठूलो आर्थिक क्षतिको मारमा परेका छन् । बारा जिल्ला फलफुल तथा केरा उत्पादक संघका अध्यक्ष एकबहादुर श्रेष्ठका अनुसार हावाहुरीले निजगढ नगरपालिकाभित्र मात्रै झण्डै ४ करोड रुपैयाँ बराबरको केरा खेती नष्ट गरेको छ ।
उनका अनुसार हावाहुरीले सबैभन्दा बढी क्षति वडा नम्बर ९ मा गरेको छ ।
वडा ९ मा मात्रै दुई करोड बराबरको क्षति
वडाभरका हजारौं केरा बोट ढलेका छन्, वडा नं. ९ मा मात्रै २ करोडभन्दा बढीको नोक्सानी भएको स्थानीयले बताएका छन् । स्थानीय कृष्क किसान चित्रप्रसाद चौलागाई लगायतका दर्जनौं किसानका खेतमा हावाहुरी व्यापक क्षति पुर्याएकाे स्थानीय बताउँछन् ।
यस्तै, वडा नम्बर ७ मा किसान मुकुन्द पौडेलले मात्रै २३ सयभन्दा बढी केरा बोट गुमाएका छन् । उनका अनुसार मेहनत गरेर लगाएको खेती एकछिनको हावा हुरीले सखाप पारिदिएर लाखौं लगानी डुबेकाे छ ।
जितपुरसिमरा १६ मा पनि ठूलो क्षति
निजगढसँगै जितपुरसिमरा उपमहानगरपालिका वडा नं. १६ टाँगियावस्तीमा पनि हावाहुरीले केरा खेतीमा ठुलो क्षति पुर्याएको छ । यहाँ पनि करोडौंको केरा खेती नष्ट भएको किसानहरूले बताएका छन् ।
केरा पकेट क्षेत्रका किसानहरू चिन्तित
सरकारले निजगढ क्षेत्रलाई केही वर्षअघि केरा पकेट क्षेत्रको रूपमा घोषणा गरेको थियो । यस क्षेत्रमा सयौं किसान व्यावसायिक रूपमा केरा खेतीमा संलग्न छन् । यहाँ उत्पादित केरा प्रतिघरी ६ सयदेखि ९ सय रुपैयाँसम्ममा बिक्री हुँदै आएको छ । तर हावाहुरीले सम्पूर्ण प्रयास र लगानी बर्बाद पारेको किसानहरूको गुनासो छ ।
किसानहरूले आफ्नो लगानीको सुरक्षाका लागि सरकारको ध्यानाकर्षण गराउँदै ऋण गरेर लगाएकाे केरा खेती फल्नेबेला हावाहुरीले सखाप पारेपछी ऋण तिर्न भएपनी उचित छतिपुर्ति दिनुपर्ने केरा खेती किसानहरूले माग रहेकाे छ ।