सर्लाहीको पर्सा गाउँपालिका–६ मा पर्ने हुलाकी सडक खण्डबाट प्रहरीले २४ हजार रुपैयाँ बराबरको नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ ।
भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका उनीहरूलाई विशेष सूचनाको आधारमा चेकजाँच गर्दा नक्कली नोटसहित फेला पारिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा लालबन्दी नगरपालिका–६ का २१ वर्षीय मुकेश कुमार साह र हरिपुर्वा नगरपालिका–४ डुमरिया निवासी २३ वर्षीय सरोज पण्डित रहेका छन् ।
उनीहरूबाट ५०० रुपैयाँ दरका ४८ थान नक्कली नोट बरामद भएको छ । सशस्त्र प्रहरी नायब निरीक्षक (सई) मेथुल यादवको टोलीले बुधबार साँझ उनीहरूलाई चेकजाँचका क्रममा पक्राउ गरेको हो । अहिले जिल्ला अदालत सर्लाहीबाट पाँच दिनको म्याद थप गरी उनीहरू विरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घटनासँग सम्बन्धित अन्य व्यक्तिहरूको खोजी पनि भइरहेको प्रहरीले जनाएकाे छ ।
भिडियाे सामाग्री