बाराको परवानीपुरबाट अन्दाजी ४० वर्षको मानसिक अवस्था कमजाेर भएका पुरुषलाई मानवसेवा आश्रमको सहयोगमा उद्धार गरी वीरगञ्जस्थित मानवसेवा आश्रममा पुर्याइएको छ ।
उद्धार गरिएका व्यक्तिले आफ्नो नाम, थर र ठेगाना भन्न नसक्ने अवस्थामा थिए । उद्धार कार्यमा मानवसेवा आश्रम वीरगञ्जका संस्थापक देवेश गुप्ता, आश्रमका अभिभावक समाजसेवी प्रकाश थारु, स्थानीय बासिन्दाहरू र नेपाल प्रहरीको टोलीको सक्रिय सहभागिता रहेको थियो ।
उद्धारपछि ती व्यक्तिलाई आश्रममा लगिएको हो, जहाँ उनलाई नुहाई–धुवाई गराएर सरसफाइ गरिएको छ । त्यसपछि उनको स्वास्थ्य परीक्षण र थप उपचारको व्यवस्था डा. भरत कुमार गोइतको निगरानीमा भइरहेको मानवसेवाले जनाएको छ ।
मानवसेवा आश्रम वीरगञ्ज शाखा, जसको स्थापना २०७६ सालको जेठ १५ गते भएको हो, हालसम्म २७६ जनाको उद्धार गरिसकेको छ । तीमध्ये ९७ जनालाई पारिवारिक पुनर्मिलन गराई उनीहरूलाई घर फर्काइयो ।
हाल आश्रमको सिर्सिया शाखामा ५७ जना महिला, पुरुष तथा बालबालिका आश्रित छन् । आश्रमले सडकमा बेसहारा अवस्थामा भेटिएका, मानसिक असन्तुलन भएका तथा घरबारविहीन व्यक्तिहरूलाई उद्धार गरी उपचार, खाना, बास र पारिवारिक पुनर्मिलनको अवसर प्रदान गर्दै आएको छ ।
संस्थापक देवेश गुप्ताका अनुसार, “सडकमा बेवारिसे अवस्थामा जीवन गुजारिरहेका मानिसहरूलाई उद्धार गरी सम्मानपूर्वक जीवन दिने हाम्रो मुख्य उद्देश्य हो ।”
मानवसेवा आश्रमको यस्तो मानवीय कार्यले राज्य र समाज दुवैको सहयोग र सहकार्य आवश्यक रहेको पनि उनले बताए ।
स्थानीय बासिन्दा र सरोकारवालाले पनि यसप्रकारको सामाजिक सेवालाई अझ सशक्त बनाउन सबैले हातेमालो गर्नुपर्नेमा जोड दिएका छन् ।