वीरगञ्ज, पर्सा |
इस्लाम धर्ममा रहेका पाँचवटा मुख्य कर्तव्यहरूमध्ये एक हो—हज । आर्थिक रूपमा सक्षम र शारीरिक रूपमा तन्दुरुस्त मुस्लिम धर्मावलम्बीका लागि जीवनमा एकपल्ट हज गर्नु धार्मिक फर्ज हो ।
विश्वभरका मुस्लिमहरू प्रत्येक वर्ष साउदी अरेबियाको मक्का र मदिनास्थित पवित्र स्थलहरूमा हज गर्न लाखौंको सङ्ख्यामा जाने गर्दछन् ।
यस वर्ष नेपालबाट १,१७१ जना मुस्लिम श्रद्धालुहरू हजको लागि साउदी अरब प्रस्थान गर्दैछन्। वीरगञ्ज महानगरपालिकाबाट मात्र १४० जना हाजीहरू हजको लागि प्रस्थान गरेका छन् । ती हाजीहरूलाई महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले विशेष कार्यक्रममार्फत् बिदाई गर्नुभयो ।
उपप्रमुख आलमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर हाजीहरूलाई खादा, माला र गमछा लगाई सम्मानका साथ बिदाई गर्नुभएको थियो। उहाँले हाजीहरूलाई सफल, सुरक्षित र फलदायी यात्राको शुभकामना दिँदै भन्नुभयो, “हजको पवित्र यात्राले मानवता, आस्था र धार्मिक कर्तव्यप्रति प्रेरणादायी भूमिका खेलोस् भन्ने कामना गर्दछु ।”
उहाँले थप भन्नुभयो, “नेपालका मुस्लिम दाजुभाइ–दिदीबहिनीहरूको तर्फबाट म उहाँहरूको हज यात्रा सफल होस् भनेर प्रार्थना गर्दछु । समस्त हाजीहरूको हज अल्लाह रबुल इज्जतले कबुल गरून् ।
” हज यात्रुहरूलाई बिदाई गर्दा भावुक वातावरण सृजना भएको थियो। सहभागी हाजीहरूले धन्यवाद प्रकट गरेका थिए ।
हजको व्यवस्थापनका लागि नेपालमा केन्द्रिय हज समिति, प्रदेश तथा जिल्ला स्तरीय हज समितिहरूको समन्वयमा कोटाअनुसार सिफारिस तथा व्यवस्थापन गरिन्छ। मुस्लिम समुदायमा मक्का–मदिनाको हज यात्रा जीवनको ठूलो उपलब्धिको रूपमा लिइन्छ ।
वीरगञ्जमा आयोजित बिदाई कार्यक्रममा वडा नं. २ का वडाध्यक्ष रेयाज मिया, नेपाली कांग्रेस वडा नं. २ का बुथ सभापति फिरोज आलम लगायत विभिन्न समुदायका व्यक्तित्वहरूको उपस्थिति रहेको उपप्रमुखका प्रेस सल्लाहकार महमद सदाबले जानकारी दिनुभयो ।