वीरगंज महानगरपालिकाले धान खेतीका लागि किसानहरूलाई ५० प्रतिशत अनुदानमा उन्नत जातको धानको बीउ वितरण गर्न सुरु गरेको छ ।
बजार मूल्यको आधा मूल्यमा बीउ वितरण गर्दै किसानलाई राहत दिने उद्देश्यसहित गत शुक्रबारदेखि वितरण प्रक्रिया सुरु गरिएको हो । महानगरपालिका अन्तर्गतको कृषि तथा पशुपंक्षी व्यवसाय प्रवर्धन शाखाका अनुसार स्वर्णसब–१, बहुगुणी–२ र हर्दिनाथ जातका धानको बीउ किसानलाई अनुदानमा उपलब्ध गराइँदैछ ।
स्वर्णसब–१ र बहुगुणी–२ जातको बीउ प्रतिकिलो ३५ रुपैयाँमा तथा हर्दिनाथ जातको बीउ प्रतिकिलो ३७ रुपैयाँमा उपलब्ध गराइएको शाखा प्रमुख रोशनी यादवले जानकारी दिइन् । यादवका अनुसार, चालु भदैया र अगहनी धान खेतीका लागि ८६५ बोरा (करिब ३१ मेट्रिक टन) उन्नत जातको धानको बीउ खरिद गरिएको छ ।
वितरण कार्य वीरगञ्ज महानगरको वारुण यन्त्र शाखा परिसरबाट भइरहेको छ । कृषकहरूले आफ्नो खेतीयोग्य क्षेत्रफल अनुसार—प्रति कठ्ठा एक किलोको दरले—धानको बीउ लिन सक्नेछन् । बीउ लिन इच्छुक किसानहरूले कार्यालय समयभित्र वारुण यन्त्र शाखामा सम्पर्क गर्नु पर्ने जनाएकाे छ । महानगरका ३२ वटै वडामा गरी करिब ६ हजार ७ सय ४९ हेक्टर जमिन धान खेतीयोग्य रहेको कृषि शाखाले जनाएको छ ।
महानगरपालिकाले उन्नत बीउ वितरणमार्फत उत्पादन वृद्धि र खाद्य सुरक्षामा टेवा पुग्ने विश्वास लिएको छ ।