बाराको कलैया बजारमा सञ्चालित दुईवटा डेरी उद्योगले खाद्य तथा कानुनी मापदण्ड पालना नगरेको पाइएपछि जिल्ला प्रशासन कार्यालय बाराले मंगलबार दुबै डेरीलाई ५०/५० हजार रुपैयाँ जरिवाना गरेको छ ।
जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईको नेतृत्वमा गरिएको छड्के अनुगमनको क्रममा जानकी डेरी र गढीमाई डेरीमा गम्भीर कमीकमजोरी भेटिएको हो । जानकी डेरीमा विगत तीन वर्षदेखि खाद्य अनुज्ञापत्र नविकरण नगरिएको, नापतौलका लागि प्रयोग गरिएको तराजुको कानुनी प्रमाणपत्र नभएको, सरसफाइमा कमजोरी रहेको, र कानुन विपरीत गतिविधि सञ्चालन गरिएको पाइएको अनुगमन टोलीले जनाएको छ ।
त्यस्तै गढीमाई डेरीमा विगत पाँच वर्षदेखि उद्योग दर्ता नविकरण नगरिएको, खाद्य अनुज्ञापत्र नविकरण नगरेको, नापतौलमा प्रयोग हुने तराजु अनुमतिपत्रविहीन रहेको, र सरसफाइसम्बन्धी मापदण्ड नपुगेको पाइएपछि सो डेरीलाई पनि पचास हजार रुपैयाँ जरिवाना गरिएको हो ।
कलैया डेरीमा भने तुलनात्मक रूपमा सानातिना मानवीय कमजोरी मात्र देखिएकाले सुझाव दिइएर छाडिएको सहायक प्रजिअ भट्टराईले जानकारी दिए । “स्वच्छ र प्रतिस्पर्धी बजार : उपभोक्ता संरक्षणको दिगो आधार” भन्ने नाराका साथ अनुगमन गरिएको थियो ।
अनुगमन टोलीमा गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका निरीक्षक हरिभजन त्रिपाठी, वाणिज्य कार्यालय वीरगञ्जका प्रतिनिधि मधुरेश प्रसाद साह, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रतिनिधि, घरेलु तथा साना उद्योग कार्यालय बाराका सहायक शाखा अधिकृत अमोद यादव, जिल्ला प्रशासन कार्यालय बारा प्रशासन शाखाका नायब सुब्बा रत्न बहादुर स्याङतान, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि तथा उपभोक्ता हित संरक्षण प्रतिनिधिहरू सहभागी थिए ।