तराईमा गर्मी बढेसँगै बारामा सर्पदंशका बिरामी बढ्न थालेका छन् ।
बाराको प्रादेशिक अस्पताल कलैयाको तथ्याङ्क अनुसार हाल दैनिक ५ देखि १० जना सर्पदंशका बिरामी अस्पतालमा उपचारका लागि पुग्ने गरेका छन् । अस्पतालका प्रमुख डा. अजय कुमार गुप्ताका अनुसार, बिहीबार मात्र १२ जना सर्पदंशका बिरामी आकस्मिक कक्षमा भर्ना भएका थिए। “गर्मी सुरु भएसँगै बिरामीको संख्या बढ्दै गएको,” डा. गुप्ताले बताए ।
प्रादेशिक अस्पतालको अभिलेख अनुसार चैत महिनामा ४० जना सर्पदंशका बिरामी उपचारका लागि आएका थिए भने बैशाखमा त्यो संख्या डेढ गुणाले वृद्धि भई ६४ पुगेको छ । यस्तै, जेठ महिनाको पहिलो १५ दिनमै ४९ जना बिरामी उपचारका लागि अस्पताल पुगेका छन् ।
चिसो र सुख्खा मौसममा दुलोभित्र लुकेर बस्ने सर्पहरू गर्मी र वर्षा सुरु भएलगत्तै बाहिर निस्कने हुँदा हरेक वर्ष यही समयमा सर्पदंशका घटना बढ्ने गरेकाे अस्पताल प्रशासनले जनाएको छ ।
डाक्टर गुप्ताले सर्पदंशबाट ज्यान जोगाउन समयमै अस्पताल ल्याउनु जरुरी रहेको भन्दै नागरिकलाई घर वरपर सफा राख्न, सुत्दा झुल प्रयोग गर्न र खाल्डाखुल्डी वा झाडीमा ध्यान दिन सुझाव दिएका छन् । यस वर्ष सर्पदंशका घटनामा वृद्धि भएसँगै अस्पतालमा एन्टिस्नेक भेनम (सर्पदंश बिरुद्धको सुई) पर्याप्त मात्रामा उपलब्ध रहेको जनाएको छ ।