संघीय सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि पर्सा जिल्लाका एक महानगर, तीन नगरपालिका र दशवटा गाउँपालिकालाई गरी कुल ५ अर्ब १७ करोड ३७ लाख रुपैयाँ बराबरको अनुदान विनियोजन गर्ने भएको छ ।
संघीय सरकारको अन्तर सरकारी वित्तीय हस्तान्तरण प्रणालीअनुसार प्राप्त हुने यो रकम समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदान शीर्षकमा रहनेछ। प्राप्त रकम स्थानीय तहहरूले विकास निर्माण, पूर्वाधार विस्तार, सामाजिक सेवा प्रवाह र चालु–पुँजीगत खर्चमा प्रयोग गर्नेछन् ।
वीरगंज महानगरपालिकालाई सबैभन्दा बढी
पर्साको एक मात्र महानगरपालिका वीरगंज महानगरपालिकाले सबैभन्दा धेरै १ अर्ब ३७ करोड ३ लाख रुपैयाँ अनुदान पाउनेछ । यो रकम सहरको पूर्वाधार विकास, सेवा प्रणाली सुदृढीकरण र समग्र नगर सुधारमा खर्च गरिनेछ ।
नगरपालिकाहरूको अनुदान विवरण
पर्सा जिल्लाका तीन नगरपालिकाहरूलाई कुल १ अर्ब १० करोड २३ लाख रुपैयाँ अनुदान प्राप्त हुनेछ ।
- पोखरिया नगरपालिका – ३६ करोड १२ लाख रुपैयाँ
- पर्सागढी नगरपालिका – ३८ करोड ६६ लाख रुपैयाँ
- बहुदरमाई नगरपालिका – ३५ करोड ४५ लाख रुपैयाँ
गाउँपालिकाहरूलाई २ अर्ब ७० करोडभन्दा बढी
जिल्लाभित्रका १० गाउँपालिकाहरूले संयुक्त रूपमा २ अर्ब ७० करोड ११ लाख रुपैयाँ बराबरको अनुदान प्राप्त गर्नेछन् ।
गाउँपालिकागत विवरण यस प्रकार छ:
- छिपहरमाई गाउँपालिका – २७ करोड ५५ लाख
- जगरनाथपुर गाउँपालिका – ३१ करोड ४८ लाख
- धोबीनी गाउँपालिका – २१ करोड ७० लाख
- पकाहा मैनपुर गाउँपालिका – २२ करोड ६० लाख
- पटेर्वा सुगौली गाउँपालिका – २८ करोड ५७ लाख
- बिन्दबासिनी गाउँपालिका – २५ करोड १७ लाख
- सखुवा प्रसौनी गाउँपालिका – ३५ करोड २६ लाख
- ठोरी गाउँपालिका – ३२ करोड ४१ लाख
- कालिकामाई गाउँपालिका – २२ करोड ९७ लाख
- जिराभवानी गाउँपालिका – २२ करोड ४० लाख
अर्थ मन्त्रालयका अनुसार, यो अनुदान वितरण स्थानीय तहको क्षमता अभिवृद्धि, सेवा प्रवाहको सुधार र आर्थिक समावेशिताको प्रवर्धनका लागि महत्वपूर्ण हुनेछ ।